arrow

अगाडि बढ्यो राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
khelkud-bidhyak.jpg

काठमाडौँ । आगामी मङ्सिरको पहिलो सातादेखि कर्णालीमा शुरु हुने दसौँ राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधवार खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले उक्त कार्यविधि छलफल गरी त्यसले अन्तिम टुङ्गो लगाउने प्रक्रिया अगाडि बढाएको हो । 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मङ्सिर २ देखि ९ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण आयोजना हुँदैछ । मन्त्री चौधरीले यस पटक राष्ट्रिय खेलकुद निर्धारित समयमा नै हुने प्रस्ट पारिसकेका छन् । त्यसैले आयोजनाको तयारीलाई तीव्रता दिन आवश्यक कामका प्रक्रिया अगाडि बढेको छ ।

बुधबार मन्त्रालयमा राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेटका खाका, स्थानीय व्यवस्थापन र खेलाडी छनोटलगायत विषयका बारेमा पनि छलफल भएको थियो । यसअघि नै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ । लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झन्डा र कर्णाली नदीलाई समेटिएको छ । मिस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा छ । नेपाली खेलकुदका निकायले सय दिनभन्दा कम समय बाँकी रहँदा राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा तीव्रता पारेको छ ।

बुधवार मन्त्रालयमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोशाक, खेल सामग्री र व्यवस्थापकीय पक्षका बारेमा छलफल भएको थियो । उक्त दसौँ राष्ट्रिय खेलकुद कार्यविधि र आयोजनाका लागि आवश्यक अन्य तयारी प्रक्रियाका बारेमा राखेपको बोर्डबाट पास गर्नुपर्ने हुन्छ । यद्यपि, लामो समयसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा राष्ट्रिय खेलकुद निर्धारित समयमा हुनेमा शङ्का पनि उत्पन्न भइरहेको छ आगामी राष्ट्रिय खेलकुदको सय दिनको काउन्ट डाउन पनि गत सातादेखि नै शुरु भइसकेको छ ।

दसौँ खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेश रङ्गशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने कर्णाली खेलकुद विकास समितिले लक्ष्य राखेको छ । यसपल्ट राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल सञ्चालन गरिँदै छ । तीमध्ये कर्णालीमा २४ खेलहरू खेलाइने तयारी भएको छ । बाँकी खेलहरू प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस भएको छ । 

कर्णालीका १० जिल्लामध्ये अधिकांश खेलहरू सुर्खेतमा हुने भए पनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन् । परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ