arrow

मुकुलले स्पष्टीकरणभित्रै राखे रविलाई गम्भीर तीन नैतिक प्रश्न [जवाफसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
ravi-mukul-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाललाई पार्टीले सोधेको स्पष्टीकरणमा उल्टै सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न तेर्स्याइएको छ । 

बुधबार २४ घण्टा समय दिएर मुकुललाई सोधिएको स्पष्टीकरणलाई छायाँमा पार्ने गरी मुकुलले सभापतिमाथि तीन प्रश्न राखेपछि लामिछानेमाथि नैतिक प्रश्न उब्जिएको छ । 

मुकुलले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएकोसमेत खुलासा गरेका छन् । 

मुकुलले स्पष्टीकरण दिने क्रममा लेखेका छन्, ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन,  ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु ।’

यस्ता छन् तीन प्रश्नहरु–
१, ‘सहकारी ठगी मुद्दामा तपाईंमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईंले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागि तयार हुने आँट छ रवि लामिछाने ज्यू ?’

२, ‘तपाईंले दुईवटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नुभयो, घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानून अनुसार तपाईं मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नुहुन्छ । तपाईंले विगतमा गरेको अपराधका लागि पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ रवि लामिछाने ज्यू ?’

३, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । कासमुमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्६ाचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ रवि लामिछाने ज्यू ?’

उनले यीबाहेक पनि थुप्रै प्रश्नहरू बाँकी रहेको बताउँदै समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले सोधेको भन्दै जवाफ दिने आँट गर्न लामिछानेलाई चुनौती दिएका छन् ।

मुकुलले स्पष्टीकरणमा पार्टीको छवि आफ्ना कारणले नभइ स्वयं रविकै कारणले धुमिल हुँदै गएको बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ