arrow

भलिबलको कभर्डहल बनाउन उपसमिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
volleyball.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले  विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्ने छ । 

यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिनाभित्र डीपीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ । उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरी ३० दिनभित्र परिषद्मा प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ । 

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्धेश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ