- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का १८ पदाधिकारीका लागि सोमबार दिनभर सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ ।
सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृत माधव पौडेलले बताए ।
खासगरी एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, बेदुराम भुषाल र प्रमेश हमालले दाबी गरेपछि सहमति हुन नसकेको हो ।
पछिल्लो पटक अध्यक्ष माधवकुमार नेपालले प्रमेश हमाललाई साथ लिएर बैठक र भेटघाटमा सहभागी हुँदै आएका छन् ।
भुषालले पनि वरिष्ठ उपाध्यक्षको दाबी छाड्न सकेका छैनन् । पाण्डेले कुनै पनि हालतमा नछाड्ने बरु निर्वाचन गरेमा आफूले जितेर देखाइदिने बताउदै आएका छन् ।
पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ । मंगलबारनै मतगणना थालिने जनाइएको छ ।
यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाललाई सर्वसम्मत चयन गरेको थियो ।
मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।
उपमहासचिवमा पनि जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, राजेन्द्र राई, जीवनराम श्रेष्ठ लगायतले दाबी गरेका छन् ।
विजय पौडेल पनि लागिरहेका छन् । विरोध खतिवडा र किसान श्रेष्ठले उपाध्यक्षमा दाबी गरिरहेका छन् ।
जयन्ती राई र रामकुमारी झाक्रीले उपाध्यक्षमा दाबी गरिरहेका छन् ।
सचिवमा पछिल्लो पटक सुदेश पराजुलीले पनि दाबी गरिरहेका छन् ।