arrow

प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीलाई बाँडे ४७ लाख ६० हजार  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
mahila-volleyball-kp-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीकी कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षक लगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । 

यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए । 

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे ।

“हाम्रा खेलाडी छोरीहरुलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले भने, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।” 

उनले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे । 

उनले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराए । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, खेल पदाधिकारी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ