arrow

गुल्मीका १० हजार घरमा जस्तापाता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
chano-jasta.jpg

तम्घास । गुल्मीका झण्डै १० हजार घरमा जस्तापाता लगाइएको छ । स्थानीय तहको खरका छाना विस्थापित गरी जस्तापाता लगाउने अभियानअन्तर्गत नौ हजार पाँच सय ५९ घरमा जस्तापाता लगाइएको हो । 

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका छन् । जसमध्ये मुसिकोट नगरपालिकामा एक हजार दुई सय खरका छाना भएमध्ये एक हजार ५८ घरमा जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । जस्तापातामा हालसम्म नगरको पाँच करोड खर्च भएको सूचना अधिकारी समुद्र विक्रम रायमाझीले जानकारी दिए । 

रुरुक्षेत्र गाउँपालिकामा जस्तापाता लगाउन योग्य आठ सयमध्ये सात सय घरमा जस्तापाता लगाइएको छ । बाँकी एक सय घरमा चालु आर्थिक वर्षमा जस्तापाता लगाई यसै आर्थिक वर्ष पालिकालाई घरका छानामुक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । चन्द्रकोट गाउँपालिकामा खरका छाना भएका एक हजार तीन घरमध्ये नौ सय दुई घरमा जस्तापाता लगाइएको छ । बाँकी एक सय एक घरमा यसै आर्थिक वर्षमा जस्तापाता लगाइ पालिकालाई खरका छानामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । 

गुल्मीदरबार गाउँपालिकामा कुल छ सय ४० खरका छाना भएकामध्ये पाँच सय ८० घरमा जस्ता लगाइएको छ । बाँकी ६० घरमा यसै आर्थिक वर्ष जस्ता लगाउने कार्यक्रम रहेको पालिकाले जनाएको छ । कालिगण्डकी गाउँपालिकामा दुई हजार दुई सय घरधुरी रहेकोमध्ये एक हजार घरमा जस्तापाता लगाइएको छ । बाँकी एक हजार दुई सय घरधुरीलाई क्रमशः जस्तापाता प्रदान गरिने अध्यक्ष वेदबहादुर थापाले बताए । 

सत्यवती गाउँपालिकामा जस्तापाता लगाउनुपर्ने आठ सय ६६ घरमध्ये सात सय १७ घरमा लगाइएको छ । बाँकी एक सय ४९ घरमा यसै आर्थिक वर्षमा जस्तापाता लगाउने कार्यक्रम रहेको छ । छत्रकोट गाउँपालिकाका एक सय ६० मध्ये एक सय ३० घरमा जस्तापाता लगाइएको छ । बाँकी ३० घरमा यसै आर्थिक वर्षमा जस्तापाता लगाउने कार्यक्रम रहेको छ । 

गुल्मीका पाँच पालिकाका सबै घरमा जस्तापाता लगाइएको छ । जिल्लाको धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिका एवं रेसुङ्गा नगरपालिकाका सबै घरमा जस्तापाता लगाइएको हो । जसमध्ये धुर्कोट र मदाने खरका छानामुक्त पालिकासमेत घोषणा भएका छन् । 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले अघिल्लो कार्यकालमा पदभार ग्रहण गर्दाको दिन नै पालिकाका सबै घरमा जस्तापाता लगाउने निर्णय गरेका थिए । आफ्नो निर्णयलाई सार्थकता दिँदै एक हजार दुई सय ४५ घरमा जस्तापाता लगाएर पालिकालाई घरका छानामुक्त पालिका घोषणा गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । गाउँपालिकालाई घरका छानामुक्त पालिका घोषणा गर्नका लागि कुल १९ करोड २९ लाख ९४ हजार एक सय १९ रुपैँया खर्च भएको छ । 

मदाने गाउँपालिकाभित्र रहेका सात सय ३६ घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाएर २०७८ फागुन २६ गते खरका छानामुक्त पालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिकाका खरका छाना भएका सबै सात सय घरधुरीमा जस्तापाता लगाइएको छ । जसका लागि एक करोडभन्दा बढी रकम खर्च भएको छ । 

इस्मा गाउँपालिकामा खरका छाना भएका छ सय ५० घरमा दुई करोडको लागतमा जस्तापाता लगाइएको छ । मालिका गाउँपालिकामा भएका सबै एक हजार चार सय ८६ घरमा जस्ता पाता लगाइएको छ । मालिका, रेसुङ्ग र इस्माले यसै आर्थिक वर्षमा पालिकालाई ‘खरका छानामुक्त पालिका’ घोषणा गर्दैछन् । नागरिकलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ