arrow

शिक्षामा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
bindu-thapa-minister.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तिनै तहको सरकार एक हुनुपर्ने बताएका छन् ।

मन्त्रालयले मंगलबार तनहुँ आँबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी दिए ।

उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे ।

“हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ, शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि तिनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता, स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ”, उनले भने ।

मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत उपलब्ध गराउने बताए ।

उनले मन्त्रालय मातहतका सम्पूर्ण कार्यालयलाई समयमा काम थालनी गरी जिम्मेवारीपूर्वक सक्न निर्देशन दिए ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले आधारभूत शिक्षा सुधार गर्न आवश्यक रहेको बताए ।

उनले मन्त्रालयले विद्यार्थीलाई मात्र केन्द्रित गरी कार्यक्रम राख्नुभन्दा पनि अभिभावक र शिक्षक सिकाइलाई समेत समेटेको जानकारी गराए ।

विद्यार्थीको लेखन सिपमा समेत दक्ष बनाउने गरी शिक्षामा बजेट विनियोजन भएको भनाइ उनको छ ।

भुक्तानीका लागि मन्त्रालयले नै धाउनुपर्ने प्रवृतिको अन्त्य गरी सम्बन्धित कार्यालयमार्फत नै कार्यक्रम तथा योजनाको भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।

आँबुखैरनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्नुपर्ने बताए ।

कर्मचारीलाई सर्भिस डेलिभरीमा ध्यान दिन उनको अनुरोध छ । नागरिकको काम अड्काउने गरी भइरहेको सेवा प्रवाहलाई चिर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि बिहीबारसम्म चल्ने जानकारी गराए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, तनहुँ, गोरखा, लमजुङ, नवलपुर र मनाङ जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ