arrow

विश्वव्यापी रूपमा उच्च तापमान रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
hot-day-children-2024.jpg
तस्बिर – फाइल ।

सिङ्गापुर । अगस्त महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ) का प्रमुखले बुधबार बताएका छन् । 

विश्वमा लगातार दोस्रो वर्ष अगस्तमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।  

मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ । 

तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरीत भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताए ।

ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६।८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताए । 

सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एक कार्यक्रममा बोल्दै निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनले बताएका छन् । 

तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरे । 

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारेको पछिल्लो मूल्याङ्कन जारी गरेको केही दिनपछि आएको यस फोरमले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसतभन्दा माथि रहेको चेतावनी दिएको छ ।

‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार अगस्तसम्मको रेकर्डले १५ महिनाको वृद्धिको निरन्तरतालाई जारी राखेको देखिन्छ भने प्रत्येक महिनामा अघिल्लो बर्षको तापक्रमको रेकर्डलाई तोडेका देखिन्छ । 

जलवायु मञ्चले सिङ्गापुरलाई वनस्पतिमा लागेको आगो र धुवाँले गर्दा हुने प्रदूषण अनुगमन गर्ने क्षेत्रीय केन्द्रको रूपमा घोषणा गरेको छ ।

विश्वभर दुई वटा यस प्रकारका केन्द्र छन् । केन्द्रले आगो र प्रदूषण पूर्वानुमानमा राम्रो गुणस्तरको जानकारी प्रदान गरी क्षेत्रीय तथ्याङ्कमा रहेको अन्तरलाई कम गर्ने अधिकारीहरूले बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ