arrow

न्यू डायमण्ड र एपीएफ लामाचौर कपकाे फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
volleyball-pokhara-lamachaur.jpg

पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ नेपाल पुलिसले जित हासिल गरेको छ ।

नवआदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर यही भदौ १८ गतेदेखि लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो । महिलातर्फको प्रतिस्पर्धामा डायमण्डले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो ।

पहिलो सेटमा २५-१३ ले हराएको डायमण्डले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

प्रतियोगितामा लगातार दुई खेल जितेर स्पष्ट छ अङ्क बनाएको डायमण्ड फाइनलमा पुगेको छ । डायमण्डले यसअघि एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३-० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५-१० र दोस्रो सेट २५-११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५-१३ ले हराउन सफल भएको हो ।

यससँगै एपिएफ पनि स्पष्ट छ अङ्कसहित फाइनलमा पुग्न सफल भयो । गण्डकी र एभरेष्टले भने कुनै अङ्क जोड्न सकेका छैनन् । चार टिम सहभागी प्रतियोगितामा ‘राउन्ड रोविन लिग’को आधारमा खेलाइएको छ ।

यता पुरुषतर्फ भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५-१२, दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको छ अङ्क छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।

यसैगरी अन्तिम खेलमा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदाहुँदै दोस्रो सेट सकिँदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १-१ सेट जितेका थिए ।

गण्डकीले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिलागरी सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले जानकारी दिए ।

स्थगित एपिएफ र गण्डकीको खेल बिहीबार हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल बिहीबार हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट विधागततर्फ आकर्षक पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ