arrow

नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
Subash-chandra-negmang.png
फाइल तस्बिर

पोखरा । संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा प्रथम प्रदेशस्तरीय पुरुष खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।

स्व नेम्वाङको प्रथम वार्षिकी पारेर प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए ।

संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको गत वर्ष हृदयाघातबाट निधन भएको थियो ।

अध्यक्ष श्रेष्ठकानुसार प्रतियोगितामा सहभागी हुने टोली अनेरास्ववियुकै हुनुपर्नेछ । टोलीमा गण्डकी प्रदेशका राष्ट्रिय खेलाडी समावेश गर्न पाइने उनले बताए ।

प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र उपविजेतालाई रु ७१ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिए ।

उनले टोलीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेबाहेक अन्य क्षेत्रका राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने जानकारी दिए ।

“अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टोली बनाउन सक्नेछन्, राष्ट्रिय खेलाडी भए पनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टोलीमा मिसाएर खेलाउन पाइँदैन”, क्षेत्रीले भने ।

प्रतियोगितामा भाग लिन रु सात हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ