arrow
ADVERTISEMENT

नेपालमा पहिलोपटक एआईपीएस एसियाको कंग्रेस, विभिन्न सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
aips-asia-nepal-81-5-27.jpg

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआईपीएस) एसियासँग होटल एशोसिएसन अफ नेपाल (हान) र सीएमआर नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भएको एआईपीएस एसियाको २५औँ कंग्रेसका अवसरमा हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअनुरूप एआईपीएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारले नेपाल आउँदा होटल सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

यसै अवसरमा हानले एआईपीएस एसियाका अध्यक्ष दोङलाई नेपालको सद्भावना दूतका रूपमा पनि नियुक्त गरेको छ । एआईपीएस एसिया र सीएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि पनि सम्झौता भएको छ ।

एआईपीएस एसिया अध्यक्ष दोङ र सीएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यबीच सम्झौता भएको हो । सम्झौताअनुसार सीएमआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुई वटा खेल पत्रकार प्रशिक्षण कोटा प्रदान गर्ने भएको हो । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आंशिक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।  

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पत्रकाहरूको छाता संगठन एआईपीएस एसियाको २५औँ कंग्रेसको एक समारोहबीच आज उद्घाटन गरेका थिए । उनले नेपालमा यस किसिमको आयोजना सम्पन्न हुनु ऐतिहासिक रहेको र यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले काठमाडौँमा एआईपीएस एसियाको २५औँ कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुशी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको उल्लेख गरे । 

एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलताले स्पष्ट पारेको बताए । 

उक्त कंग्रेसमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्यपदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोर्ट्सकी एसिया प्रतिनिधिबीच महिला सशक्तीकरणबारे छलफल भएको थियो ।

त्यसैगरी नेपाल पर्यटन बोर्डले नेपालका विश्वसम्पदा सूचीमा रहेका ऐतिहासिकस्थल, पर्यटकीय क्षेत्र, भाषा संस्कृति, हिमालपहाड र देशको भौगोलिक अवस्थाका बारेमा वृत्तचित्र प्रस्तुत गरेको थियो । 

खेलकुद पत्रकारको छाता सङ्गठन एआईपीएसको एसियाली क्षेत्रको कंग्रेसजस्ता ठूलो आयोजना पहिलोपल्ट नेपालमा भएको हो । उक्त कंग्रेसमा विभिन्न ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ