arrow

आफूलाई पक्राउ गरेर देखाउन ओलीलाई लिङ्देनको चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
rajendra-lingden-06-03.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।  अध्यक्ष लिङ्देनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिए । 

उनले आफूहरू संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए । उनले आफूहरूले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताए । उनले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरूलाई समेटेर दलहरूका बीचमा नवीन समझदारीका साथ संशोधन गर्नुपर्ने बताए । 

उनले भन्नुभयो – ‘ संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरूलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ । म यहाँबाट केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयताको विरोधी हो राजेन्द्र लिङ्देन । राजेन्द्र लिङ्देन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओ । हामीले अराजकताभित्र भविष्य खोजेका छैनौँ । कुनै अराजकतामा आफ्नो भविष्य खोजेका छैनौँ । त्यसकारण हामीले संयमता अपनाइरहेका छौँ । हामीले यो सरकार र ठुला पार्टीहरूलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन । यो संविधानले काम गर्न सक्दैन । यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ । त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरूलाई समेटेर नयाँ यात्रा तय गर्नु छ । अब अगाडी जानुको विकल्प छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ