‘सनातन राज्य’ को पक्षमा बोलेपछि ज्यान मार्ने धम्की आएको खुश्बूको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
157
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बू ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको दाबी गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातन धर्मावलम्बी रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाल सनातन राज्य हुनुपर्ने धारणा राखेपछि योजनाबद्ध रूपमा धम्कीहरू आउन थालेको बताइन्।
उनले भनिन्, “नेपाल सनातन राज्य हुनुपर्छ भन्ने कुरा यस सदनमा उठाएपछि अहिलेसम्म सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आइरहेका छन्।”
सांसद ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्की सामना गर्न सक्ने भए पनि यसलाई आफ्नो मात्र नभई समग्र सनातन धर्ममाथिको प्रहारका रूपमा लिएको बताइन्। धर्मनिरपेक्षताका नाममा यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
उनले प्रश्न गर्दै भनिन्, “के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो ? यो धम्की मलाई मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो।”
सांसद ओलीले सामाजिक सञ्जालमा फैलिने घृणात्मक अभिव्यक्ति र धम्कीमाथि कानुनी कारबाही गर्न तथा जनप्रतिनिधिको सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइन्।