सनातन राज्यको माग गर्दा मलाई बलात्कार र ज्यान मार्ने धम्की आयो: खुस्बूओली
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
338
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलासा गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सदन समक्ष यस्तो गम्भीर आरोप लगाएकी हुन्।
सांसद ओलीले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने विषय संसद्मा उठाएकै कारण इसाई धर्मावलम्बीहरूले सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा आफ्नो ज्यान लिने र बलात्कार गर्ने धम्की दिएको दाबी गरिन्। नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै उनले देशको मूल पहिचान र संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने माग गर्दा आफूलाई निसाना बनाइएको बताइन्।
उनले भनिन्: "९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरी सुनियोजित रूपमा मलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ। के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो? यो धम्की म सहन सक्छु सभामुख महोदय। तर यो धम्की मलाई मात्र नभई सिङ्गो सनातनीहरूमाथिको प्रहार हो।"
उनले व्यक्तिगत रूपमा आफूले यस्ता धम्कीहरूको सामना गर्न सक्ने भए पनि यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा मात्र लिन नहुने धारणा राखिन्। यो प्रवृत्ति समग्र सनातनी समुदायको आवाजलाई दबाउने प्रयास र उनीहरूमाथिको सिधा प्रहार भएको भन्दै उनले संसद् र सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएकी छन्।