arrow

पठन संस्कृति विकास अभियान ‘बुकाहोलिक्स’: पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ मा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
bookaaholics.jpg

काठमाडौँ । पठन संस्कृतिको विस्तारका लागि काम गर्दै आएको अभियान बुकाहोलिक्सले ‘मासिक चकटी बहस’को ९५औँ शृङ्खलामा यस पटक अग्रज साहित्यकार पद्मावती सिंहको कथाकृति ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ माथि बहस गराएको छ ।

थापाथलीमा आयोजित उक्त बहस कार्यक्रममा वक्ता साहित्यकार अनिता पन्थीले कृतिमाथि आफ्नो दृष्टिकोण राखिन् । पन्थीले पद्मावती सिंहका कथाहरूमा विविध पाटाहरू रहेको बताइन् । 

सहज र सरल लेखनीले कथाकार सिंहका कथाहरूमा विचरण गर्न सजिलो हुने उनले बताइन् । पन्थीले भनिन्, “पद्मावती सिंहको कथा लेखनमा सुक्ष्मता पाइन्छ । उहाँले नसोचेको विषयमा पनि कथा लेख्दै आउनु भएको छ । उहाँका कथाहरूमा जीवन्तता पाइन्छ । समय, समाज र परिवेश उहाँका कथाहरूमा पाउन सकिन्छ । उहाँका कथामा विद्रोह पनि छ, तर त्यो विद्रोह पनि शालीन छ ।”

पन्थीले कृति भित्रका २२ कथाहरूमाथि टिप्पणी गर्दै पद्मावती सिंहका कथामा संस्कृति, सभ्यताका साथै यौन मनोविज्ञान पनि प्रस्तुत भएको बताइन् । उनले कथाकार सिंहका यौन कथामा कलात्मकता प्रचुर रहेको बताइन् । पन्थीले भनिन्, “यौन कथा लेख्न कलात्मक सोच चाहिन्छ । कलाले अश्लीलता छोपिन्छ ।”

पन्थीले कथाकृतिभित्रका कमी कमजोरीहरूको पनि चर्चा गरिन् ।

कथाकार सिंहले आफूले कथा लेख्दा कल्पनाको उडान खासै नगरेको बताउँदै आफूलाई छोएको विषयलाई कथाशिल्पमा उन्दै आएको बताइन् ।

उक्त अवसरमा केही प्रश्न उठे, जसको जवाफ वक्ता र लेखक दुवैले दिए ।

बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले संस्थाको बारेमा जानकारी दिँदै कथा लेखनका सन्दर्भमा आफ्नो विचार राखिन् । उनले सन् २०१३ देखि बुकाहोलिक्सले काम गर्दै आएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ