arrow

अनुगमनका नाममा व्यवसायीलाई हतोत्साही नबनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
pcci-lcci.jpg

पोखरा । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले अनुगमनका क्रममा व्यवसायीलाई हतोत्साही बनाउने र व्यावसायिक फार्मले आर्जेको प्रतिष्ठा गिराउने काम नगर्न आग्रह गरेको छ ।

दुवै संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेधसँगै नागरिकको सम्पत्ति आर्जन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारलाई ख्याल गर्न सरकारलाई आग्रह गरेको छ ।

लगानी गर्नु र लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री गर्नु व्यवसायीको अधिकार तथा कर्तव्य भएको जिकिर गर्दै खरिद बिलमा उल्लिखित मूल्यमा कानूनसम्मत नाफा जोड्न पाउनु व्यवसायीको नैसर्गिक अधिकार भएको पनि दाबी गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको मुखमा गरिने बजार अनुगमन र त्यस उपक्रममा उद्योगी/व्यवसायीमाथि हुने गरेको अनावश्यक दबाबप्रति भने हाम्रो गम्भीर आपत्ति छ ।’

उनीहरुले समय समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, भीड भएका बेला अनुगमन गरिनु, सामान्य त्रुटीमा टेकेर व्यवसायीको चरित्रहत्या गरिनु न्यायोचित नहुने उनीहरूको भनाइ छ । उनीहरुले चाडबाडमा सकेसम्म छुट दिन व्यवसायीसँग आग्रह गरे ।

‘चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवामा यथाशक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय वस्तुको बिक्री-बितरणको व्यवस्था मिलाउन, कानूनले तोकेभन्दा बढी मूल्य तथा म्याद गुज्रेका सामान खरिद-बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त-दुरुस्त राख्नका लागि हामी सम्पूर्ण उद्योगी/व्यवसायी समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ