arrow

दशैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
ichhakamana-road-block.jpg

काठमाडौँ । बडा दशैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दशैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

दशैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त रु जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दशैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दशैँसम्म पूरा हुने अवस्था भने देखिन्न ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए ।

“खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो”, उनले भने, “काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दशैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए ।

“मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ”, उनले भने, “सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।”

उनका अनुसार दशैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए । “यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरु, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ ।”

चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताउनुभयो । “सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ”, उनले भन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ