- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । महोत्तरीको जलेश्वर-२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ ।
मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण बडादशैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामपृत गिरीले बताए ।
पानीले माताको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भूभाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए ।
पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए ।
मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो ।
डुबानका कारण बडादशैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।
पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडादशैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गरे ।
राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।