arrow

दक्षिण कोरियाबाट बाढी पीडितका लागि एक करोड प्रदान, थप सहयोगका लागि राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
kathmandu-flood-aftermath-8.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गणतन्त्र (दक्षिण) कोरियाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उसले नेपाललाई राम्रो र हितैषी साथीको रुपमा लिएकोसमेत उल्लेख गरेको छ । सोही क्रममा हालै नेपालमा आएको बाढीपहिरो पीडितको राहतका लागि एक करोड रुपैयाँ उपलब्ध गराएको छ भने थप सहयोगका लागि राष्ट्रव्यापी सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरेको जनाएको छ । 

यसअघि दक्षिण कोरियाली परराष्ट्र मन्त्री छो थेयलले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई नेपालमा आएको भीषण बाढी र पहिरोले गराएको आर्थिक तथा मानवीय क्षतिप्रति गहिरो समवेदना सन्देश पठाएका थिए । 

छोलेअविरल वर्षा र बाढी पहिरोका कारण सयौँ व्यक्तिहरुले ज्यान गुमाएको दुःखद घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेका थिए । साथै उनले मृतकहरु प्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरु प्रति कोरिया सरकारको तर्फबाट सहानुभूति प्रकट गरेका थिए । 

त्यसैगरी नेपालको बाढीपीडितका लागि आवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए । 

सो क्रममा गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले बाढी र पहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (एक करोड रुपैयाँ) उपलब्ध गराएको छ। 

रेडक्रसले २ अक्टोबरबाट राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान पनि घोषणा गरेको छ । सङ्कलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ।

नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यस वर्षभरीनै विभिन्न कार्यक्रम आयोजना गर्नुका साथसाथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदान–प्रदान गरेका छन् ।

गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलले कोरियाका राष्ट्रपति युन सख्यल र कोरियाली जनतालाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

राष्ट्रपति पौडेलले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध पारस्परिक सम्मान र एकअर्काप्रतिको असीम सद्भावमा आधारित घनिष्ट र मैत्रीपूर्ण रहेको उल्लेख गरेका थिए । अर्ध शताब्दी पुरानो द्विपक्षीय सम्बन्धको यात्रामा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘एभरेष्टिङ फ्रेन्डशिप’ भन्ने नाराले सार्थकता पाएको उल्लेख गरेका छन्।   

राष्ट्रपति पौडेलले गणतन्त्र कोरिया र नेपालबीच विगतदेखिको विभिन्न क्षेत्रमा रहेको सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने उल्लेख गरे। गत हप्ता अक्टोबर ३ तारिख कोरियाली गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रपति युन सख्यललाई शुभकामना सन्देश पठाएर दुई देशको सम्वन्धलाई थप प्रगाढ बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ