arrow

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
asian-cross-country-nepal-win-2079.jpg
फाइल तस्बिर

पोखरा । पर्यटकीय राजधानी पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता हुने भएको हाे । 

‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने बताइन्छ । 

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने प्रतियोगिता आगामी कात्तिक २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ भने उद्घाटन कात्तिक २४ गते बिहान हुनेछ ।

नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाले प्रतियोगितालाई सघाउने बताइन्छ ।

प्रतियोगिताका लागि चिनियाँ खेलाडी कात्तिक २२ गते कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानबाट आउने प्रतियोगिताका संयोजक एवं हिमालय टुरिज फोरमका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए।

उनका अनुसार दौड, साइक्लिङ र बोटिङ गरी ५० किलोमिटरको दूरी पार गर्नुपर्नेछ ।

प्रतियोगीले टिम समूह, च्यालेञ्ज इन्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछन् । टिम समूहमा ३० वटा मिश्रित टिम रहने छन् ।

यसमा कम्तीमा एकविपरीत लिङ्गको सदस्य समेटिएको हुनुपर्ने आयोजकले जनाएको छ । टिम समूहमा ९० जना खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने हुन्छ ।

दौडका क्रममा खेलाडीले दुई हजार दुई सय ५८ मिटर उचाइ पार गर्नेछन् । टिम समूहमा प्रथमलाई रु चार लाख ५८ हजार पाँच सय, द्वितीयलाई रु तीन लाख ४३ हजार आठ सय, तृतीयलाई रु दुई लाख २९ हजार दुई, चौथोलाई रु एक लाख ५२ हजार आठ सय र पाँचौँ हुनेलाई रु ९५ हजार पाँच पुरस्कार प्रदान गरिने संयोजक पालिखेले जानकारी दिए ।

यसैगरी च्यालेञ्ज इन्डिभिजुअल समूहमा ८० जना चिनियाँ र एक सय २० नेपाली गरी दुई सय खेलाडी सहभागी हुनेछन् ।

यसमा ५० किलोमिटरको ट्रेलमा दुई हजार तीन सय ६६ मिटरको कूल उचाइ पार गर्नेछन् ।

च्यालेञ्ज समूहको शीर्ष १० पुरुष र महिला खेलाडीले नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस विधामा प्रथम हुने पुरुष र महिलाले जनही रु एक लाख ५२ हजार आठ सय, द्वितीयले रु एक लाख १४ हजार छ सय र तृतीयलाई रु ७६ हजार चार सय नगद पुरस्कार पाउने छन् ।

विद्यार्थी दौडको पाँच किमी विजेताले महिला र पुरुषले जनही रु ३० हजार, द्वितीयले रु २५ हजार, तृतीयले रु २० हजार पुरस्कार पाउने छन् ।

विद्यार्थी दौडमा पाँच सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताले पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुग्ने प्रतियोगिता संयोजक पालिखेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ