arrow

‘पहलमान’ छान्ने ठेलो फाल्ने खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
myagdi-himal.jpg

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो । 

विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा अवस्थित ताकमकोट वाइसे चौविसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो । 

बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ । 

ताकमकोतमा आयोजना हुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैअघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । 

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन्”, उनले भने “तत्कालीन थापा राजाका पालामा सुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौँ ।”

माललाई फेता गुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभासमारोहमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरु बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् । 

ताकमकोतको यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जित्नुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नु भएको हो । 

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्री बाहेक हालसम्म नौपटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र बहादुर थापाले बताए । 

“प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाहरुले सहभागिता जनाएका थिए”, थापाले भने, “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

विस. २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुभएको थिएनन् । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायम र सन्तुलित खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए । 

“विंस २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन”, उनले भने, “गत वर्ष एक महिनादेखि तयारी गरेको थिए । यसपाली विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभएपनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए । एकै पटकमा अरुले भन्दा टाढा ठेलो फाले । सोख पूरा भएकोमा खुसी छु ।” 

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटिका अध्यक्ष पनि छन् । जनप्रतिनिधिको जिम्मेवारी पुूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ । 

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गरेका थिए । 

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए । महानवमी पर्वको अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए । 

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ । 

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवरात्र भर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताए । 

“कोतघर र मन्दिर पुनःनिर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ”, उनले भने “मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्न भक्तजन आउने गरेका हुन् ।” ताकमकोतको ओदान देवतामा गरेको भाकल पूरा भएमा बली चढाउने चलन छ । 

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालको साथै अग्ला पहाड, ग्रामीण बस्तीहरुको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । समुदायस्तरबाट चन्दा सहयोग जुटाएर विंस २०७५ मा ताकमकोतको जिर्णोद्धार गरिएको थियो । विंस २०७२ को भूकम्पले कोतघर र जगन्नाथ मन्दिर जिर्ण बनेको थियो । 

यसैगरी पुरातत्व विभागले कोतघर परिसरमा रामसिता मन्दिर पुनःनिर्माण गरेको छ । समूदाय स्तरबाट चन्दा सङ्कलन गरेर पर्यटकीय आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना गरेका छन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको छ । देविस्थान र ताकम तर्फबाट देउरालीसम्म सडक सञ्जालले जोडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ