arrow

अपचलन राजनीति हैन 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
shivaprasad-pokharel-81-7-3.jpg

अमेरिकाको चुनावमा कुन धनीले कति डलर दियो अनि हाम्रोमा पनि एक जना मनकारीले जम्माजम्मी एक करोड डलर जति दया देखाए । अनि के भो ? यसलाई पनि विरोध गर्नुहुन्छ ? प्रजातन्त आएको देशमा नबुझेकाहरु विरोध गर्छन् हामी विरोध गर्न हुँदैन भनेर भन्छौँ । उनले हाम्रो दललाई सहयोग गरेर केही पनि मागेका छैनन् भन्ने कुरा बुझ्ने कोही पनि छैनन् । 

यो देशमा बुझ्ने भनेको म एक जनामात्र हो भन्ने लाग्छ । हामीले प्रजातन्त्रका लागि कतिलाई स्वर्ग पठाएर उनका बाउ आमालाई किन छोरा छोरी पाएका हौ भनेर पनि सोधेका छैनौँ ।

हामी भगवान् निदाएको बेलामा जन्मिएकाले जन्म लिन पाएका हौँ तर भगवान् ननिदाएको भए हामी जन्मन पाउने थिएनौँ । त्यसैले हामीसँग भगवान् त हारिसके भने यस्ता नाथेले विरोध गरेर केही हुँदैन त्यसैले आफू रमाउनका लागि विरोध गरे हुन्छ । 

हामीलाई बाल मतलब । नेपालका लागि गतिलै कुकर्म गर्न सक्छ भने उहाँहरुले नै गर्न सक्नुहुन्छ भन्ने लाग्छ । भगवान् हामीलाई बाल मतलब । 

हिजो मात्रै हो जम्मा ६५ करोड हिनामिना अभियोगमा एक जनालाई समात्यो भनेर सरकार नै मरिसकेकाले उसको नाममा जुठो परेको छ भन्ने पनि सुन्न पाएँ । जन्मनै नहुनेहरु जन्मिए पछिको अभिव्यक्ति हो भन्ने लाग्छ । 

मेरो निकै सोझो एक जनामात्र साथी छन् । उनी पनि सहकारी नामको ठगबाट ठहरै भएका छन् र उनी कतै गुनासो पनि गर्दैनन् र ठगलाई आफन्त भन्छन् । उनले लेख्दैनन् । अनि आफ्नो साथी लेख्नेलाई पनि भन्दैनन् । तर मैले सोधेर नै कतिमा डरल्लै भएको हो भनेर सोध्दा ६५ लाख जति बुढाबुढीले विदेशमा कमाएको रकम हो भनेर भने । 

मेरो फुलिसकेका रौँहरु ठाडा भए । उनी संसारमै यदि सोझा मानिस कोही छन् भने त्यसकै लाइनमा भएका मान्छे हुन् तर मैले उनको लागि गर्न सक्ने केही छैन । 

यदि भगवान् नै छन् भने अपराधीलाई कारबाही गर्थे होला तर सम्भव छैन यो कलियुग हो भन्ने बारेमा भगवान् स्वयं नै जानकार छन् त्यसैले कहीं कतैबाट सहकारी पीडितले न्याय पाउँदैनन् । अब उनीहरुका लागि प्रश्नहरु तेर्सिने छन् ।

किन त्यति धेरै पैसा कमाएको भनेर । आज आफू ठगिएकाहरु साँवा मात्र पाए पनि हुन्छ भन्दै आन्दोलनमा निस्किएका छन् । बिचरा ब्याजमाराहरु ? कसको बाउको चोरेर १५–१६ प्रतिशत ब्याज आउँछ ? 

त्यति ब्याज लिनका लागि ठग सहकारीले कसलाई २० प्रतिशत ठग्ने ? सहकारी नामका ठगहरु नेपालका लागि अभिसाप संस्था नै भएर देखिए । पैसा जम्मा गरेका लोभीहरुका लागि न्याय दिन सक्ने भनेको नै भगवान् हुन् । 

तर कलियुग भएकाले उनी पनि चीरनिन्द्रामा छन् भन्ने समाचार आएको छ । अब तिम्रा लागि न्याय दिने यो देशमा चाहिँ कोही छैनन् भन्ने लाग्छ । 

हाम्रो देशमा अब करिब–करिब अन्त्यतिरको प्रस्तुति चलिरहेको छ भन्ने मेरो बुझाइ रहेको छ । अब हाम्रोमा विचरा सोझो कसका छोरा उनले विचरा जम्माजम्मी अर्बौंको राज्यलाई कर नतिरेर जोगाएको सोझो कमाइ अनि सरकारी जग्गा हडपेका धेरै नै सोझा निर्धाहरु, सोझा जस्तै देखिने तर कुनै हालतमा सोझा भने हैनन् जस्तो लाग्छ । 

मानव जस्तै बनावट भएका सर्वसाधारणहरु बस्ने देशमा बसेर न्याय खोज्नेहरु अब इस ऽऽऽ खाओ । हिजो देखेनौ ? एक जना बिचरा अर्ब रुपैयाँ पनि अपचलन गरेका रहेनछन् भन्ने समाचार छ । 

तर राति नै पोखरामा लाँदै गर्दा मुग्लिनलगायत बाटोमा धेरैले विरोध गरेको भनेर कसैले सुनेनौ ? आज पोखरामा आन्दोलननै भएको छ भन्ने पनि सुनियो ।

आन्दोलन चर्काउनु पर्छ तिम्ले पनि सहकारीबाट केही रकम लिएका छौ भने पदुवाहरु ऽऽऽ । तिमीहरु कम्तीमा चाइनामा जन्मिएर सन्तान भएका भए आज श्राद्ध गर्नुपर्ने जमातहरु हौ । अपराध गर्नेले सजाय पाउनु पर्छ र जेलमा बस्नु पर्छ । 

साधुसन्तले मागेर खानुपर्छ र आफ्नो माग केही भए भगवानलाई पुकार गर्नुपर्छ भन्ने लाग्छ । कसैले पनि बेइमान नगर्नुस् र गरेको बेइमानबाट पन्छिने चेष्ठा नगर्नुस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ