arrow

सरकार वादी मुद्दाका दोषीबाट एमालेले कार्यालय बनाउन जग्गा दान लिएको भन्दै टीआई नेपालले जनायो आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
NTI-nepal.png
तस्बिर – फाइल ।

काठमाडौँ । भ्रष्टाचार विरुद्धको अभियानमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले एमालेलाई पार्टी कार्यालय भवन बनाउन जग्गा दान र भवन पनि आफैँ बनाइदिने पात्र सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका व्यक्ति भएको भन्दै आपत्ति जनाएको छ । 

टीआई नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणको लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माणसमेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

टीआईले अगाडि भनेको छ, ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दाहरु न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ । कानूनको पालना गरी गराई सरकारी सम्पत्ति र हितको संवर्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिंदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने ठम्याइ टीआई नेपालको रहेको छ ।’

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारको लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने देखिनेसमेत ठहर गरिएको छ । 

टीआईले सरकार संचालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम कारबाहीबाट अलग रहन अपीलसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ