arrow

तेस्रो मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो साताबाट, देशभरबाट तीन सय खेलाडी सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
mayor-cup-81=8-2.jpg

ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेश्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गतेबाट हुने भएको छ ।

सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), यू–१७ ब्वाईज र गर्ल तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा वरीयता अंक प्राप्त गर्नेछन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यू–१७ तर्फ ब्वाइज तथा गर्ल एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

४ दिनसम्म संचालन हुने प्रतियोगितामा नेपाल भरिबाट करिब ३०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।

करिब ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले दर्ता शुल्क बापत पुरुष र महिला एकलका लागि १ हजार, पुरुष युगलका लागि २ हजार, यू–१७ का लागि ५ सय र मास्टर्स ४५ वर्ष माथिका लागि २ हजार ५ सय निर्धारण गरिएको सचिव रदीप महर्जनले जनाएका छन् । 

प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियलहरुलाई बिहानको नास्ता र खानाको ब्यवस्थापन आयोजकले गर्ने भएको छ ।
 



नयाँ