- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा ऋणसम्बन्धी कुनै पनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन् ।
छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग कुनै पनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति छलफलको क्रममा दिएको कांग्रेस नेता समेत रहेका पूर्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए । उनले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि उल्लेख गरेको जानकारी दिए ।
साउदले भने, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणमा केन्द्रित रहेर सुझावहरू माग्नुभयो । जसमा दुई देशबीचको परम्परागत सम्बन्ध सुमधुर रहँदै आएको अगामी दिनमा त्यसलाई थप मजबुत बनाउने बारेमा छलफल गरे । बीआरआई लगायत अन्य कुराहरू पनि छलफलका एजेन्डाहरू बने । ती विषयमा पनि छलफल भयो । उहाँले ऋणको बारेमा मौन रहेर बीआरआईलाई अगाडि बढाउने कुरा उहाँको अभिव्यक्तिबाट बुझेँ । चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने उनको आशय थियो । त्यस्तै, विभिन्न प्रोजेक्टहरूलाई अगाडि बढाउनेबारे छलफल हुने समेत उनले छलफलका क्रममा जानकारी दिनुभएको छ । ’
छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरूलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको उनले बताए । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राखेका थिए ।
एमाले नेता समेत रहेका पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विगतमा गरिएका सहमति कार्यान्वयनमा जोड दिने सबै नेताहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए । उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा केन्द्रित भएर आफ्नो चीन भ्रमण हुने धारणा राख्नु भएको पनि बताए ।
पाण्डेले भने, ‘थुप्रै सहमतिहरू भएका चाइनासँग हाम्रो पटक पटक । अहिले ती सहमतिहरूलाई इम्पिलिमेन्ट फेजमा जानुपर्छ भन्ने नै सबैको धारणा हो । नेपालको हितमा, नेपाली जनताको हितमा राष्ट्र हितमा हुने कामहरू उनले आफूले गरेर आउँछु पनि भन्नुभएको छ । सबैको कन्सर्न पनि त्यही थियो । पूर्व सहमति कार्यान्वयन गरेर जानुपर्नेमा सबैको जोड थियो ।’
त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उद्देश्यबारे प्रस्ट पार्दै घुम्नको लागि नभई काम गर्नको लागि चीन जान लागेको जानकारी गराएको पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले बताइन् । उनले छलफलको क्रममा विगतमा भएका सम्भौताहरुको कार्यान्वयनको स्थितिबारे छलफल भएको उल्लेख गरिन् ।
पूर्व परराष्ट्रमन्त्री पौड्यालले भनिन्, ‘उहाँले आफूले चीन भ्रमण गर्नुको उद्देश्य भन्नुभयो। काम गर्न जाने घुम्नको लागि नजाने स्पष्ट पार्नुभयो । अहिले भइरहेका सम्झौताहरूलाई कार्यान्वयन गराउनेबारे कुरा राख्ने बताए । हामीले पनि उनलाई विभिन्न सुझावहरू दिएका छौँ । बीआरआई परियोजनालाई ऋणको रूपमा दिने कि अनुदानको रूपमा लिने भन्नेबारे छलफल गरेर मुलुकको हित हुने हिसाबले अगाडि बढ्नेबारे छलफल भएको छ ।’
यता पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरी चीन भ्रमणमा आफ्नो कुरा राख्न आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए । उनले भने, ‘उनले आफ्नो चीन भ्रमण नेपाल–चीन सम्बन्धलाई अझ विकास गर्नका लागि हुने कुरा गरे । हामीले उनलाई के भन्यौ भने तपाई त्यहाँ नेपालको प्रधानमन्त्रीको हैसियतले जाँदै हुनुहुन्छ । नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका कुरालाई विश्वासका साथ राख्नुहोस् । नेपाली जनताको समर्थन हुन्छ । यही कुरा नै हामीले भन्यो । मूल कुरा ठुला देशहरूसँग नेपालले जहिले पनि आफ्नो विश्वसनीयता कायम गर्नु पर्छ । बीआरआईमा लोन लिनुहुन्न भन्ने भन्ने होइन, हुनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गते चीनको औपचारिक भ्रमण गर्दैछन् । सोही सन्दर्भमा उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेको थियो । छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, नारायणप्रकाश साउद, डा.विमला राई पौडेल, प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको थियो ।