arrow

तात्दै पत्रकार महासङ्घको चुनावी सरगर्मी, अध्यक्षमा पाँचको उम्मेदवारी [कार्यतालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
FNJ-Final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । 

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारी र प्रेस युनियनसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी प्रेस युनियनका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
    
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी र प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् । 

उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलकी उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् । 

त्यसैगरी महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी–युनियन नेतृत्वको प्यानलबाट उम्मेदवार हुन्  भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् । 

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको हो । 

उम्मेदवारी फिर्ता लिनका लागि शनिबार बिहान १० बजेसम्मको समय दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ