काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भिडन्त भइरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गदैए आक्रामक शुरुआत गरेको छ । पहिलो ओभरमै १७ रन जोडेर आक्रामक शुरुआत गरेको सुदूरपश्चिम उच्च योगफलतर्फ अगाडि बढेको छ ।
सुदूरपश्चिमले पछिल्ला सबै चार खेल जितेको छ भने जनकपुरले चारमध्ये दुई खेलमात्र जितेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरिरहेको हो ।
यो संस्करणमा जनकपुर सुदूरपश्चिमसँग तेस्रो पटक भिडिरहेको हो । यसअघिका दुवै भिडन्तमा जनकपुर पराजित भएको थियो ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो ।
तेस्रो प्रयासमा जनकपुरले बदला लेला त ? भन्ने प्रश्न अहम् छ । अर्कातिर लिग चरण र पहिलो क्वालिफायरमा जित हासिल गरेको सुदूरपश्चिम त्यही लयमा अगाडि जान नसके के होला ?
जेहोस् फाइनल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ जित्नेछ । फाइनलमा पराजित हुने टिमले ५१ लाख रुपैयाँ पाउने छ ।
तेस्रो भएको कर्णाली याक्सले २५ लाख पाउने छ भने चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ ।
दोस्रो क्वालिफायर खेल
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ११९ रनको चुनौती पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गमाएर पूरा गर्यो ।
अन्तिम चार ओभर फिल्डिङमा धेरै नै गल्ती गर्दा निकै राम्रो खेलेको कर्णाली हार्न पुगेको हो ।
जनकपुरका लागि जेम्स नीशमले १७ बलमा ४५, हर्ष ठाकेरले १७, शेर मल्लले १० बलमा अविजित रहँदै १६ रन बनाए ।
कर्णालीका लागि मात्र १६ वर्षे खेलाडी बिपिन शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उनी ‘स्लो लेफ्ट आर्म अर्थोडक्स’ हुन् । उनले यो लिगमा ९ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायो ।
गुल्सन झाले २५ तथा देव खनालले २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २–२ विकेट लिए ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।
लिग चरणमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको थियो ।
यो हारसँगै कर्णालीले तेस्रो हुँदै २५ लाख रुपैयाँ हात पारेको छ । उपाधि विजेताले एक करोड १० लाख जित्नेछ भने उपविजेताले ५१ लाख जित्नेछ ।
चौथो भएको चितवन राइनोजले १५ लाख जितेको छ ।
दर्शकको संख्या उल्लेख्य रहेको छ । रंगीविरंगी पोशाकले गर्दा मैदान रंगिएको छ ।