मनमोहन सिंहको अन्तिम संस्कार शनिबार, घरमै पुगे मोदी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
1.5k
Shares
काठमाडौँ । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार शनिबार हुने भएको छ । शुक्रबार राति ९२ वर्षको उमेरमा निधन भएका सिंहको शुक्रबार अन्तिम संस्कार गरिने भनिए पनि शनिबार मात्रै हुने भएको छ ।
उनको शुक्रबार राति स्थानीय समयअनुसार ९ः५१ बजे एम्स अस्पतालमा निधन भएको थियो । घरमा बेहोश भएपछि उनलाई राति ८ः६ बजे अस्पताल ल्याइएको थियो ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सिंहलाई उनकै निवासमा पुगेर श्रद्धाञ्जली दिएका छन् । सिंहको पार्थिव शरीर शुक्रबार मध्यराति नै घर लगिएको थियो ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसेर सिंहलाई श्रद्धाञ्जली दिइएको थियो भने शोकप्रस्तावसमेत पारित गरिएको थियो ।
मोदी सरकारले शुक्रबार कुनै पनि औपचारिक कार्यक्रम गरेन ।
सिंहको अन्तिम यात्र शनिबार बिहान ९ः३० बजे दिल्लीस्थित अलइन्डिया कांग्रेस कमिटी (एआईसीसी) बाट हुनेछ ।
कांग्रेस महासचिव केसी वेणुगोपालका अनुसार शनिबार बिहान ८ बजे सिंहको पार्थिव शरीर उनको निवासबाट कांग्रेस मुख्यालय लगिने छ ।
बिहान ८ः३० देखि ९ः३० बजेसम्म कांग्रेस कार्यकर्ताले कांग्रेस कार्यालयमा श्रद्धाञ्जली दिनेछन् ।
सादगी जीवन रुचाउने सिंह भारतका पहिलो शिख प्रधानमन्त्री हुन् । उनी लामो समय प्रधानमन्त्री हुने चौथो व्यक्ति हुन् । उनी सन् २००४ मा देशका चौधौँ प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१४ को मेसम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।
सिंहको निधनमा भारत सरकारले ७ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।