मध्यपुर थिमी महोत्सवः लक्ष्य नयाँ पर्यटकीय गन्तव्य विकास [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
513
Shares
भक्तपुर । तीन सय ४७ स्टलसहित मध्यपुर थिमी महोत्सव शुक्रबारदेखि शुरु भएको छ । स्थानीय कला, संस्कृति र एतिहासिक नाच अवलोकनदेखि नेवारी परिकारको स्वाद चाख्न पाइने आयोजकले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिकाको आयोजना र प्रायोजनमा तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ आइतबारसम्म चल्नेछ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै महोत्सवको मुख्य उद्देश्य हो ।
महोत्सवमा नेवारी भेषभूषा र परम्परागत सामग्री प्रदर्शनीमा नेवारी संस्कार र भेषभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला, नेवाः संस्कारका अलावा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन भइरहेका छन् ।
महोत्सवमा सांस्कृतिक नाच प्रदर्शन अन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन हुनेछ ।
बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजन लगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन हुने नगरपालिकाले जनाएको छ ।
यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो । साथै पहिलेदेखि चल्दै आएको महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, र भजन गायनजस्ता कार्यक्रमले यो संस्करणमा पनि निरन्तरता पाएको छ ।
महोत्सव शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे र तिगनीको नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा संचालन भइरहेको छ ।