ल्होसार सबैभन्दा बढी धुमधाम नाम्खामा, तीन दिन सार्वजनिक बिदा
जनकबहादुर शाही,
प्रकाशित २०८१ पुष १५ सोमबार
696
Shares
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटदेखि उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाले तमु ल्होसारका अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ ।
तामाङ तथा लामा समुदायको सांस्कृतिक पर्व तोतङरी ल्होसारको अवसरमा हुम्लाको नाम्खा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत पुस ८ गते बसेको गाउँकार्यपालिकाको बैठकले २१५२ औँ तोतङरी ल्होसार (सर्प वर्ष) को अवसरमा गाउँपालिका कार्यालय र त्यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नाम्खा गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी पुस १५, १६ र १७ गते गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिएको हो ।
१५ गते नेपाल सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरेकाले १६ र १७ गते नाम्खा गाउँपमलिबाले थप २ दिन सार्वजनिक बिदा दिएको हो ।
तामाङ तथा लामा समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ तथा लामा भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।
चन्द्रमास पात्रो अनुसार पुस शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधि अनुसार यो पर्व मनाउने गरिन्छ ।
तमु ल्होसार गुरुङ समुदायले मनाउने गर्छन् । यो सोमबार परेको छ भने मंगलबार तोल ल्होसार रहेको छ ।