देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
709
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।