केही ठाउँमा फाटफुट वर्षा र हिमपात, छैन वर्षा हुने बलियो मौसम प्रणाली
हिउँदमा वर्षा नै नहुने संकेत, खडेरी अझै बढ्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
740
Shares
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने भएको उल्लेख गरिन् । अहिलेको प्रणाली पनि त्यसैको निरन्तरता भएको उनले जनाइन् ।
उनले पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षा भएको, देशैभर धुम्म बादल लागेको बताइन् । उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताइन् ।
विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् । उनका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ ।
“मौसम बदली भएसँगै पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान–बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो”, मौसमविद् मानन्धरले भनिन् ।
अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले जानकारी दिइन् ।
“जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ”, उनले भनिन् ।
कस्तो हुनेछ आज ?
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै बिहानीपख तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।