काठमाडौँ । बुधबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ। छिमेकी देश भारत र नेपालका विभिन्न स्थानबाट बाबा, साधुसन्तहरु पशुपति क्षेत्रमा आइसकेका छन् ।
डेढ महिनादेखि चलेको भारतको प्रयागराज महाकुम्भ मेला पनि बुधबार नै सकिँदै गर्दा नेपालमा यसपालि विगतका तुलनामा बाबा, साधुसन्तको उपस्थिति अलि कम रहेको छ ।
यता बुटी बाबाहरुसँग भने बच्नुपर्ने अवस्था रहेको छ । बुटीबाबाहरुले युवालाई आकर्षित गरी बुटी बेच्ने गरेका छन् । आफूहरु पनि धुवाँ उडाउँदै लठ्ठ हुँदै युवालाई कुलतमा फसाउने चुनौती यसपालि पनि रहेको हो ।
यता दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ ।
यद्यपि साधुसन्त नै भारतबाट कम आएसँगै कोषको अड्कल विफल सावित भइसकेको छ ।
महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भने, “नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।”
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका देशबाट भक्तजन आइरहेका छन् । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्न बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ ।
उनले भने, “नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली सुरक्षाका लागि परिचालन गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली पनि रहने छ ।”
त्यसैगरी स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ । मन्दिर परिसरमा साधुसन्तको व्यवस्थापन गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ ।
तिलगङ्गासँगै हङ्शमण्डप, वनकाली सहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।