राधेराधेमा महायज्ञ गरी बेवारिसे सडक मानवलाई सहयोग गरिने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
681
Shares
भक्तपुर । बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो ।
महायज्ञ चैत २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट हुनेछ ।
सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ प्रचारप्रसार समितिका संयोजक पेशल आचार्यले जानकारी दिए ।
‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ का संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिँदै आएको छ ।
केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ ।
संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ ।
संस्थाका अध्यक्ष सुमी मानवका अनुसार त्यसअघि २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरिएको थियो । संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ ।
हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ । महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघका अध्यक्ष मानवले जानकारी दिइन् ।
महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत चैत २१ गते बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग हुनेछ भने सोही दिन बिहान ९ बजे महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ । महायज्ञको उद्घाटन २१ गते दिउँसो साढे १२ बजे हुनेछ ।
यस्तै लक्ष्यवर्तीका प्रज्वलन चैत २६ र २७ गते तथा समापन चैत २७ गते हुने बताइएको छ । महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साढे ४ बजे प्रसाद वितरण गरिने छ ।
यस्तै दैनिक रुपमा साँझ ६ देखि ९ बजेसम्म श्रृङ्गारिक महाआरतीसहित सन्ध्याकालीन भजन हुने संघले जानकारी दिएको छ ।