एनआईसी एशिया बैङ्कले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२५’
सातै प्रदेशका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू लाभान्वित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
719
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौँ विद्यार्थी तथा युवाहरूमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैङ्कको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा यस बैङ्कका सातै प्रदेशका विभिन्न शाखाहरूले विद्यार्थी तथा युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।
सातै प्रदेशका विभिन्न शाखाहरूले यस अभियान अन्तर्गत हप्ताभरिमा सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरूबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन्।
तुलनात्मक रूपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैङ्क शाखाहरूले पनि यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरेका थिए।
त्यसै गरी, यस बैङ्कले राष्ट्र बैङ्कको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो।
नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई दिएको निर्देशन अनुसार यस बैङ्कले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरूबाट बालबालिका, विद्यार्थीहरू तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैङ्कले विश्वास लिएको छ।