मधेस प्रदेशका मन्त्री कौशल किशोरलाई काँग्रेस अनुशासन समितिले सोध्यो दोस्रो स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
1.2k
Shares
सर्लाही। नेपाली काँग्रेसका नेता तथा प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टी अनुशासन उल्लङ्घनको विषयमा जिल्ला अनुशासन समिति सर्लाहीले दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
पार्टीको मर्यादा विपरीत गतिविधिमा संलग्न भएको, अन्य विचारधाराका राजनीतिक कार्यक्रममा सहभागिता जनाएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक आरोप लगाएको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो।
सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्यसमितिबाट प्रमाणसहित उजुरी प्राप्त भएपछि रायलाई पहिलो पटक सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो। तर, तोकिएको समयभित्र कुनै प्रतिक्रिया नआएपछि अनुशासन समितिका संयोजक डा सरोज कुमारले पार्टी अनुशासन समितिका तर्फबाट दोस्रो पटक पत्र पठाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सर्लाहीका अनुसार मन्त्री रायको गतिविधिमाथि पटक-पटक प्रश्न उठिरहेको छ। पार्टीका नेताहरूलाई गालीगलौज गर्ने, सङ्गठनलाई कमजोर पार्ने तथा अनुशासन विपरीत गतिविधिमा संलग्न रहेको भन्दै उनलाई अघिल्ला पटक पनि सचेत गराइएको थियो।
पार्टीले यस प्रकरणलाई गम्भीर रूपमा लिएको र तोकिएको समयभित्र स्पष्टीकरण नदिए थप कारबाहीसमेत गरिने काँग्रेस सर्लाहीले जनाएको छ।