पशुपतिमा दर्शनार्थीको भीड, व्यवस्थापन अस्तव्यस्त [३० तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
803
Shares
काठमाडौँ । सोमबार नयाँ वर्ष । विक्रम सम्बतको पहिलो दिन तथा सोमबार परेसँगै पशुपतिनाथको दर्शन गर्न पशुपतिमा भीड रहेको छ ।
अन्य दिनमा पनि भीड नै हुने गरे पनि सोमबार भने विशेष भीड लाग्ने गर्छ । त्यसमाथि नयाँ वर्षको पहिलो दिन पनि परेकाले हिन्दूधर्मीहरू पशुपतिनाथ पुगेर दर्शन गर्न रुचाउँछन् ।
पशुपतिमा उल्लेख्य भीड थियो । तर व्यवस्थापन भने निकै नै फिचलो थियो । पशुपति क्षेत्र विकास कोषले कुनै पनि कामको व्यवस्थापन गरेको थिएन ।
कोषकै नालायकीले दर्शनार्थीले दुःख पाएको गुनासोसमेत गरेका थिए । उनीहरूले कोही बाहिरै छुटेको र आफूमात्र भित्र आउन पाएको बताए ।
यसबारे बुझ्दा एक महिलाले भनिन्, ‘धकेलाधकेल भयो, म भित्र आउन पाएँ, मेरा मान्छे आउनै पाएनन् ।’
बाहिरकै गेट बन्द गरेर कोषका कर्मचारीले दर्शनार्थीलाई दर्शन गर्नबाट वञ्चित गरेका थिए ।
उनीहरुले तिलगंगाको मुख्यद्वार पशुपति प्रवेश गर्ने ठाउँबाटै लाइनमा बस्न भनेर अत्याचार गरेका थिए । तर भित्रबाट भने फेरि मिसिन पाइने थियो ।
बिहान ९ बजे भने यो लाइन हटाइएको थियो । त्यतिमात्र होइन भित्रबाट बाहिर जाने द्वारसमेत बन्द गरेर कोषका कर्मचारीले दर्शनार्थीमाथि दुर्व्यवहार गरेका थिए ।
सोमबार बिहान प्रहरीले लाठीचार्जसमेत गरेको दर्शनार्थीहरुले बताए । आफूहरुले निकै दुःख पाएको उनीहरुको गुनासो छ ।
नयाँ वर्षको पहिलो दिनको अवसरसँगै सोमबार पनि परेकाले दर्शनार्थीको भीड रहेको थियो । त्यसमा पनि अधिकांश बालबालिका तथा किशोर किशोरीहरू रहेका थिए । युवा जमात बढी भए पनि त्यो धकेलाधकेलमा वृद्धवृद्धा पनि थिए ।
कोषको नालायकीका कारण बाहिरकै ढोका बन्द गरेर दर्शन गर्न जान चाहनेलाई रोकेर अत्याचार गरिएको थियो ।
प्रहरीलाई सोध्दा ‘हामीसँग सोध्ने हैन समितिसँग सोध्ने, धेरै जान्ने हुने हैन, गैहाल्ने यहाँ बस्ने हैन’ जस्ता भाषा प्रयोग गरेका थिए ।
कोषका कर्मचारीहरुलाई सोध्दा ‘समितिमा सोध्ने यहाँ सोध्ने हैन’ भन्दै असभ्य भाषाको प्रयोग गरेका थिए ।
त्यतिमात्र होइन पशुपतिनाथको मूल द्वारमा प्रवेश गरेपछि पनि जताजतै बार लगाएर मुख्य मन्दिरमा मात्र दर्शन गर्न दिइएको थियो । त्यो पनि मन्दिर घुम्न दिइएको थिएन ।
अन्य बेला दर्शनार्थीले लगेको नरिवल भित्र नै फुटाउने व्यवस्था भए पनि यसपालि त्यसो गर्न दिइएन । बाहिर ल्याएर फुटाउन भनियो ।
त्यतिमात्र होइन दर्शनार्थीले लगेका बत्ती भित्र बाल्न दिइएन । ‘बाहिर लगेर बाल्ने, यहाँ बाल्ने हैन, भनेको नमाने लठ्ठीले हान्ने हो’ जस्ता भाषा प्रहरीले प्रयोग गरेको थियो ।
सोमबार भएकाले विशेष गरी १०८ शिवलिङ्गको दर्शन गर्न खोज्ने धेरै हुन्छन् । तर त्यहाँ पनि प्रवेश दिइएन ।
त्यसो त प्रहरी र पशुपति विकास कोषका कर्मचारीका आफन्त भए भने उनीहरुलाई आफैँले नै पुर्याएर आउने गरेकोसमेत देखिन्थ्यो ।
पशुपतिनाथ सबैका हुन् । तर सोमबारको माहोल हेर्दा गैरधार्मिक व्यक्ति पशुपति क्षेत्र विकास कोषमा बसेर हिन्दूधर्मीलाई दुःख दिएको स्पष्टै देखिन्थ्यो ।
दर्शनार्थीलाई दुःख दिने कोषको यो नियतले कतिपय दर्शनार्थीलाई फेरि फर्केर पशुपति दर्शनका लागि नआउने वातावरण बनाइरहेको त हैन ?
यतातर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ । हिन्दूधर्मीले पशुपतिमा विधिपूर्वक दर्शन गर्न पाउनु पर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यतातर्फ विशेष चासो राख्नुपर्ने देखिन्छ ।
गेटबाट भित्र प्रवेश नै नदिने यो हर्कतका कारण पशुपतिको दर्शन गर्न पुगेकाहरू कतिपय च्यापिएका थिए भने कतिपयलाई हात र खुट्टामा चोटसमेत लागेको थियो ।
व्यवस्थापन गर्न नसक्ने, बाहिरै ढोका लगाएर अन्याय गर्ने अनि भित्र पनि सीमित क्षेत्रमा घेरा लगाएर मात्र पूजा गर्न लगाउने गर्नाले आस्थामाथि गम्भीर धक्का पुगेको निश्चित छ ।
के पशुपतिको नाममा कोही कसैले राजनीति गर्न लागेको त हैन ?