arrow

मासिक फल

वैशाखमा राजनीतिक क्षेत्रमा उतारचढाव, तापमान बढ्ने

यस्तो हुेनछ १२ राशिको फल, गरौँ यी काम

logo
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख २ मंगलबार
monthly-horoscope.jpg

वैशाख महिनाको ग्रहगोचरले आमदुनियाँमा पार्ने प्रभावको वर्णन गर्दा हरेक वर्षको वैशाख महिनामा सूर्यले मेष राशिको गोचर गर्दछ । मासिक राशिफलको चर्चा गर्दा अधिकतम रूपमा सूर्यको के कस्तो प्रभाव हुन्छ भन्ने विषयको चर्चा गरिन्छ, तथापि सम्बद्ध राशिको राशिस्वामीका साथमा शनिश्चर, वृहस्पति र राहुको गोचरले पनि मासिक राशिफलमा आंशिक प्रभाव पार्ने गर्दछ ।

वैशाख महिनामा सोमबार संक्रान्ति परेको छ । अशुभ फलदायी संक्रान्तिको बारका कारण उत्पादित सबै वस्तुहरुको नोक्सानी बढ्नेछ । धान्यादि वस्तुहरु महँगा हुनेछन् । 

विभिन्न रोगहरुका कारण जनता दुःखी बढ्ने बन्नेछन् । पश्चिमी क्षेत्रमा अशान्ति बढ्नेछ । राजनीतिक क्षेत्रमा उतारचढावको स्थिति देखा पर्नेछ । 

तापमान बढ्नाले जनजीवन कष्टदायी रहनेछ । रोगका कारण पशुचौपायामा हानि हुनेछ । आँधीहुरी र अग्निभय बढ्नेछ । कतै कतै एक्कासी हुने वर्षाले कृषिमा क्षति पुग्नेछ ।

अग्नि तत्व प्रमुख सूर्यले हरेक वर्ष वैशाख महिनाभरि अग्नि तत्व भएकै मेष राशिमा गोचर गर्दछन् । सूर्यको यस गोचरको प्रभाव आमदुनियाँमा रहेका १२ वटै राशिमा केही न केही प्रभाव पर्ने गर्दछ । 

वैदिक ज्योतिषमा सूर्यलाई एउटा ग्रहको मान्यता दिइएको छ र यो सबै ग्रहको अधिपति अर्थात् राजा हो, जबकि वैज्ञानिक दृष्टिकोणले सूर्यलाई ग्रह नमानेर नक्षत्रका रूपमा गणना गर्ने चलन छ । वास्तवमा मानव जीवन र भौतिक शरीरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सूर्यलाई ग्रह मानिएको हो ।

त्यस्तै धार्मिक दृष्टिकोणले सूर्यलाई प्रत्यक्ष देवताको संज्ञा प्रदान गरिएको छ, नारायणको अंशस्वरूप मानेर उहाँलाई भगवानको दर्जा दिइएको छ । 

जीवनको प्रत्येक आयाममा घटित हुने यावत् क्षणहरूमा निर्वाह गर्ने विशेष सामर्थ्य भगवान् सूर्यनारायणबाट प्राप्त हुन्छ । व्यक्तिको जीवनी शक्ति, ऊर्जा र प्रतिरोधात्मक क्षमता प्रदान गर्नुका साथै सूर्यले व्यक्तिलाई राम्रो शारीरिक संरचना र नैष्ठिक चरित्रसमेत प्रदान गर्दछ । 

सूर्य ग्रहको मित्र शक्तिका रूपमा चन्द्रमा, मङ्गल र बृहस्पतिलाई लिने गरिन्छ । त्यस्तै शत्रु अर्थात् प्रतिद्वन्द्वी ग्रहका रूपमा शुक्र र शनिश्चरलाई मान्ने गरिन्छ । सूर्यको बुध ग्रहसँग तटस्थ सम्बन्ध अर्थात् समभाव रहने गर्दछ ।

मेष राशिमा रहेको सूर्यलाई उच्च सूर्य र तुला राशिमा रहेको सूर्यलाई नीच सूर्य मान्ने गरिन्छ । त्यस्तै सिंह राशि सूर्यको स्वामित्व भएको राशि  हो र यसलाई मूल त्रिकोण मान्ने गरिन्छ । 

त्यस्तै मेष, सिंह र धनु राशिको सूर्य बलवान् मानिन्छ भने तुला, मकर र कुम्भ राशिको सूर्यलाई तुलनात्मक रूपमा कमजोर सूर्यका रूपमा लिइन्छ । 

मनुष्य जीवनको आत्मा, निर्णय क्षमता, नेतृत्वशक्ति, प्रशासनिक दक्षता र केन्द्रीय सामाजिक हैसियत आदिमा सूर्यको अधिकार हुन्छ ।

सूर्यले राशि परिवर्तन गरेकै दिन प्रत्येक महिनाको सङ्क्रान्ति र महिनाको पहिलो दिन हुने गर्दछ, अझ सूर्यले मेष राशिमा प्रवेश गरी नयाँ राशिचक्रको यात्रा प्रारम्भ गरेको दिन नेपाली जनजीवनमा नयाँ वर्षका रूपमा मनाउने प्रचलन छ । 

यो हिन्दू वर्षको पहिलो दिन हो । मेष राशि सूर्यको उच्च राशि हो । ज्योतिष विज्ञहरूका अनुसार मेष राशिमा रहेको सूर्यको गोचर आमजीवनका सबै १२ वटै राशिका लागि शुभ रहने छ । किनभने मेष राशिको स्वामी मङ्गल ग्रह सूर्य देवताको मित्र हो । 

परिणामतः मङ्गलको राशिमा पुगेको सूर्यको यो घर उच्च स्थान भएकाले जातकहरूको जीवनमा सकारात्मक परिणाम प्रदान गर्नेछ । जातकहरू उत्साही, ऊर्जावान्, आत्मविश्वासले भरिपूर्ण, हिम्मती र साहसी देखिनुका साथै हरेक चुनौतीको सामना गर्नसक्ने र मानसिक ढंगले सबल हुने गर्दछन् । तर सूर्यको यस गोचरको प्रभावले कसैकसैमा क्रोधी स्वभाव र अहङ्कारी भावनासमेत विकसि प्राप्त हुने गर्दछ ।
यो महिनामा सातु, जल (शर्वत आदि), पंखा, छाता, धर्मघट, उपानह (जुत्ता, चप्पल) आदिको दान, विश्रामस्थलको निर्माण उचित हुनेछ ।

वैशाखमा जन्मिएका व्यक्ति
वैशाख महिनामा जन्मेको व्यक्ति अभिमानी, साहसी, उदार, धार्मिक, चतुर भएर आफ्नो काम गर्ने, अरु माथि शासन गर्ने, साहसी हुनाले साहसिक कार्यहरु जस्तैः सेना, प्रहरी, खेलकुद, सिकार खेल्ने आदि काममा विशेष सफलता पाउने, छिटो रिसाउने र छिटो नै शान्त हुने हुन्छन् ।

कुनै नयाँ कार्य बडो उत्साहले थालनी गर्दछन् तर जब काम शुरू हुन्छ । तब त्यसमा ध्यान नदिइ अर्कै काममा ध्यान दिन्छन् । 

जसको कारणले आर्थिक अवस्था धेरै परिवर्तनशील हुनेछ । वैवाहिक जीवनमा सामान्य झगडा भइरहने भए पनि वैवाहिक जीवनको र सन्तानको सुख प्राप्त हुनेछ । 

यस महिनामा जन्मिएका व्यक्तिलाई प्रायः गरेर टाउको दुख्ने, पेटमा विकार, शिरमा चोट र उमेर बितेपछि उच्च रक्तचापको पीडा हुनेछ ।

वैशाखमा गर्न सकिन्छ यी काम
हिन्दू पात्रोअनुसार केही दिनमा नै नयाँ वर्ष अर्थात् वैशाख महिना सुरू हुँदैछ । यसै महिनामा रामको अवतारमा भगवान विष्णुको जन्म भएको जनविश्वास छ ।

ज्योतिषीहरूका अनुसार स्कन्द पुराणमा यो महिना निकै पवित्र र फलदायी मानिएको छ । यस महिनामा अक्षय तृतीया, बरुथिनी र मोहिनी एकादशी, प्रदोष व्रत, मासिक शिवरात्रि, वैशाख अमावस्या र वैशाख पूर्णिमा जस्ता धेरै व्रत र पर्वहरू पनि छन् । 

यस महिनामा भगवान विष्णुको माधव स्वरूपको पूजा गरी ऊँ माधवाय नमः मन्त्रको जप गर्नुहोस् । यसले जीवनमा सुख र समृद्धि ल्याउनेछ । विष्णुजीको पूजामा पञ्चामृत र तुलसी मिसाउनु पर्छ । यस महिनामा गीता वाचन गर्नु शुभ मानिन्छ । 

यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ । वैशाख महिनामा कथा आदि आयोजना गर्नु शुभ र फलदायी हुन सक्छ। यस महिनामा पर्ने अमावस्याको दिन पनि महत्वपूर्ण छ ।

अमावस्यामा पितृहरूलाई प्रसाद र पिण्डदान गर्नुहोस् । वैशाख अमावस्यामा शनिदेवको पूजा गर्नाले कुंडलीमा शनिदोष र पितृदोषको प्रभावलाई कम गर्न सकिन्छ ।

वैशाख महिनामा गर्मी उत्कर्षमा हुने भएकाले यस महिनामा पशुपंक्षीलाई पानी र खाना खुवाउनु पवित्र मानिन्छ । जसका कारण पशु पन्छीहरू भोकै बस्दैनन् र भगवानको कृपा पनि प्राप्त हुन्छ भन्ने मान्यता छ ।

वैशाख महिनाको राशिफल
मेषः सूर्यलाई पाँचौं घरको मालिक मान्ने गरिन्छ । यस महिनाभरि सूर्यले तपाईंको आफ्नै राशिमा भ्रमण गर्नेछन्, जहाँ पहिलेदेखि नै केतु ग्रहको उपस्थिति रहेको छ । यस भावमा बसेका सूर्यको तुला राशिमा अर्थात् तपाईंको राशिको सप्तम भावमा पूर्ण दृष्टि रहने छ । यसको प्रभावले जीवनका विभिन्न महत्वपूर्ण उपलब्धी र सकारात्मक परिणाम प्राप्त हुनेछ । तर सूर्यदेवले केही आक्रामक स्वभावको सिर्जनासमेत गर्नसक्छन् । कार्यस्थलमा विवाद वा झगडाको वातावरण बन्नेछ । सकेसम्म यस महिनाभरि आफूभित्र आवेग र क्रोध आउन दिनु हुँदैन । हरेक व्यवहार र होचोअर्घेलोमा आफूलाई सतर्क  र सावधान राख्नुका साथै कुनै पनि परिस्थितिमा बहस वा विवादबाट टाढा रहने प्रयत्न गर्नुपर्दछ । सार्वजनिक निकाय र सरकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई सूर्यदेवले अत्यन्त शुभ फल प्रदान गर्नेछन् । स्वरोजगार वा बन्दव्यापारमा लागेका व्यक्तिलेसमेत आफ्नो कार्यक्षेत्रमा वांछित अवसरहरू प्राप्त गर्नेछन् ।

यस्तै तपाईंबाट निर्वाह गरिएको भूमिकाको सर्वत्र सराहना हुनेछ, साथै प्रयास र परिश्रमको उचित मूल्य प्राप्त हुनेछ । आर्थिक दृष्टिकोणले सुरक्षित महसुस गर्ने समय हो । घरपरिवारमा रमाइलो वातावरण देखिने छ, अधिकतम समय परिवारसँगै समय बिताउने अवसर मिल्नेछ । परदेशमा रहेका व्यक्तिहरू घर आउने र निर्माण तथा व्यवहारिक काममा जुट्ने समय पनि हो । मात्र होइन, पिताजीले समेत आफ्नो कार्यक्षेत्रमा उन्नति गर्न सक्नुहुन्छ । जग्गाजमिन र पैतृक सम्पत्तिको उपयोग गरी कुनै ठूलो काम सुरु गर्ने वातावरण बन्नेछ । प्रेमसम्बन्धका दृष्टिले यो समय त्यत्ति अनुकूल रहने छ । जिद्दीपन र अहङ्कार प्रदर्शन गर्नाले कतिपय जातकको प्रेमजीवनमा समस्या आउने सम्भावना रहेको छ । स्वास्थ्यका दृष्टिकोणले बलियो समय छ । अल्छी गर्ने वा अकर्मण्य हुने होइन, काम गरेर देखाउने समय हो । लक्ष्य प्राप्तिका कम्मर कसेर लागी पर्नु उचित हुन्छ, केवल प्रयत्न गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, अहङ्कार र आडम्बरको भावनासमेत विकसित हुनसक्छ ।

चन्द्रगोचरका आधारमा यस महिनाको ६, ७, १४, १५, १६, २४, २५ र २६ गते नकारात्मक समय रहने छ । शुभतामा बृद्धि होस् र ग्रहजन्य अरिष्टताको नाश होस् भन्ने उद्देश्यले लग्नभावमा बसेको राहुको प्रियताका लागि प्रत्येक शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दानसामाग्री जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गर्नु ठीक हुनेछ ।

वृषः वैशाख महिनामा भोगविलास, सुखसुविधा, विदेशयात्रा, घरायसी सुख र माताजीलाई संवोधन गर्ने चतुर्थ भावको मालिकका रूपमा सूर्यको गणना हुन्छ । वैशाख महिनाभरि सूर्यले बाह्रौं भावको यात्रा गर्नेछन् र यस भावमा बसेर छैटौं भावमा पूर्ण दृष्टि राख्नेछन् । बाह्रौं भावबाट आर्थिक सङ्कट, हानि र मोक्षको फलादेश गर्ने चलन छ । विदेशबाट वा वैदेशिक प्रयोजनका कामबाट राम्रो आम्दानी हुनेछ । विशेष गरी विदेशमा काम गरिरहेका जातकको करियरमा ठूलो सफलता मिल्नेछ । स्वदेशमा नै रहेका जातकमा समेत आध्यात्मिक र दार्शनिक भावनाको जागृति हुनेछ । शत्रुपक्षको चलखेल बढ्ने समय भएकाले कार्यक्षेत्रमा सजगताका साथमा चल्नुपर्ने हुन्छ । आचरणविरुद्ध, अनैतिक वा गैरकानूनी काममा संलग्न व्यक्तिले सामाजिक अपमान, दुर्नाम र दण्ड जरिवाना व्यहोर्ने परिस्थिति बन्नेछ । आर्थिक सन्तुलन कायम राख्न नसक्नाले घरिघरि मानसिक चिन्ता र तनावमा बृद्धि हुनेछ । आफ्ना कामलाई निरन्तरता दिन हरेक व्यक्तिले पहिलेभन्दा बढी मिहिनेत र परिश्रम गर्नुपर्ने हुन्छ । कडा परिश्रमपछि मात्र व्यापारीवर्गको चेहरामा मुस्कान देख्न पाइने छ ।

यस्तै नोकरीमा रहेका व्यक्तिले समेत दौडधूप र माथापिच्ची गर्नुपर्ने हुन्छ । आफ्नो समयसीमा अनुसार लक्ष्य पूरा गर्न सकिंदैन, त्यसैले थप प्रयास र दक्षता बढाउनु वाञ्छनीय देखिन्छ । आर्थिक दृष्टिले उतारचढावले भरिपूर्ण समय हो । आम्दानीको मार्ग खुल्ला रहनेछ, तर पनि देखासिकी र आडम्बरको भावना उत्पन्न हुनाले भौतिक वस्तु, आधुनिक उपकरण र मौजमज्जाका क्षेत्रमा धनको प्रवाह बढ्नसक्छ । भविष्यमा उचित प्रतिफल पाइने छ, तथापि लगानीको विस्तार गर्न खोज्दा प्रयासमा विलम्ब हुने तथा धनमाल वा जायजेथा कतै गएर अड्किने सम्भावना रहेको छ । घरायसी मामिलामा दौडधूप गर्नुपर्ने समय पनि हो, परिबन्द र बाध्यताका काममा खर्च बढ्नेछ । जीवनसाथी वा लवमेटको चाहनालाई बेवास्ता गर्नु हुँदैन । त्यसबाहेक छैंटौं भावमा पूर्ण दृष्टि रहेकाले व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत रहनुपर्ने समय हो ।
समग्रतामा मिश्रित प्रकृतिको फल पाउने समय भए पनि चान्द्रयात्राका आधारमा यस महिनाको ८, ९, १६, १७, १८, २६, २७ र २८ गतेका दिन सतर्क र सावधान भई व्यवहार गर्नु समुचित हुन्छ । कुनै पनि अरिष्टफल प्राप्त नहोस् भन्ने उद्देश्यले बाह्रौं भावमा बसेको सूर्यको प्रियताका लागि दैनिक रूपमा गाई र माता लक्ष्मीको उपासना गर्नुका साथै केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री वा आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।

मिथुनः सूर्यले दाजुभाइ र मित्रशक्तिको समर्थन जुटाउने तृतीय भाव अर्थात् पराक्रम स्थानको स्वामित्व गर्दछ र वैशाख महिनाभरि यसले आय, लाभ र आन्तरिक तिर्सना र इच्छा जनाउने एघारौं घरको यात्रा गर्नेछ । मिथुन राशिका जातकले मनग्ये धनार्जन गर्नेछन् र आर्थिक अवस्था बलियो हुनेछ । शत्रु र प्रतिद्वन्द्वीले अनेकानेक चलखेल गर्ने समय हो, तथापि निरन्तर प्रगतिको पथमा लम्किरहन पाइने छ । उनीहरूको क्रियाकलापले उल्टै तपाईंलाई नै फाइदा पुग्नेछ । वरिष्ठ, प्रतिष्ठित र प्रभावशाली व्यक्तिहरूसँग मित्रता हुनेछ र उनीहरूको सद्भाव जुटाउनाले आफ्नो वर्चस्व कायम राख्न सकिनेछ । नामसुनाम चम्काउने अवसर मिल्नेछ । व्यापार÷व्यवसायको विस्तार हुनेछ । आवेग, रिसराग र अहङ्कार सलबलाउने समय भएकाले साझेदार वा प्रेमीसँगको सम्बन्धमा नकारात्मक प्रभाव पर्नसक्छ ।

यस्तै आपसी सम्बन्धका दृष्टिले संयमता अपनाउने समय हो । घरायसी जीवन र वैवाहिक सुखका दृष्टिले सामान्य नै देखिन्छ, स्वास्थ्यस्थिति पनि राम्रो रहने छ । इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुनेछ । सरकार वा सामाजिक जीवनको उच्च ओहदाका मानिससँग उठबस गर्न पाइने छ । कतिपय प्रसङ्गमा फाइदा लिन सक्नुहुन्छ । सिनियर कर्मचारीले सहयोग र समर्थन गर्नेछन् । तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत रहेको छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्नेछ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । मन प्रसन्न रहने छ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो ।

समग्रतामा शुभफलको आधिक्यता भएको १, २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गतेको चन्द्रमा अशुभकारी रहने हुँदा उक्त दिनमा अलि बढी सतर्कता अपनाउनु जायज हुन्छ । कुनै पनि अशुभता नहोस् र महिनाको उत्तरार्द्धमा बाह्रौं भावमा पुग्ने राशिस्वामी बुधको शुभफलमा कमी नआओस् भन्ने उद्देश्यले बुधवारका दिन भगवती दुर्गाको मन्दिरमा वा तेस्रो लिङ्गी (किन्नर) लाई हरियो रङको चुरा दान गर्नुपर्दछ ।

कर्कटः कुटुम्ब र धनसम्पत्तिसँग सम्बन्धित दोस्रो भावको मालिक सूर्य हो । वैशाख महिनामा सूर्यले पिता, कार्यक्षेत्र र कुलसँग सम्बन्धित दशम भावको यात्रा गर्नेछ । यस भावमा बसेको सूर्यको चतुर्थ भावमा पूर्ण दृष्टि रहने छ । परिणामतः पदप्रतिष्ठा बढ्ने छ । कार्यक्षेत्रको विस्तार हुनेछ र प्राप्त उपलब्धीले सुनिश्चित भविष्यको सङ्केत गर्नेछ । सरकारी वा सार्वजनिक पदमा रहेका व्यक्तिको जीवनमा विशेष उपलब्धी प्राप्त हुनेछ । व्यापारी/व्यवसायीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । प्रेमभावका दृष्टिले निरस समय मानिन्छ, तर कर्मक्षेत्रको सूर्य भनेको परिश्रम र दौडधूप गरी व्यक्तित्व विकासमा ठोस उपलब्धी दिलाउने अवसर हो । आर्थिक हैसियतमा बृद्धि हुनेछ । जागिरेहरूको सेवासुविधामा वृद्धि हुनेछ । व्यापारीहरूले थप नाफा कमाउनेछन् । घरपरिवारमा भौतिक समुन्नतिको अवसर आउने छ, तर दौडधूप र माथापिच्ची गर्ने समय भएकाले कसैले कसैको कुरा सुन्न र भावना साटासाट गर्न भ्याउँदैन । त्यसैले यो आपसी सम्बन्ध र प्रेमभावका दृष्टिले कमजोर समय मानिन्छ । कामको चाप र दायित्व निरन्तर बढीरहने भएकाले चाहेर पनि जीवनसाथी र प्रेमीलाई समय छुट्याउन सकिंदैन । 

यस्तै व्यक्तिगत स्वास्थ्यस्थिति राम्रै देखिन्छ, तर पिताजीको स्वास्थ्यमा भने उतारचढाव आउनेछ । यदाकदा घरभित्र विवाद र कलहको वातावरणसमेत देखा पर्नसक्छ, त्यसैले पारिवारिक विषयमा आफू चुप लागेर अर्काको आशय र विचार ग्रहण गरेको जाती हुन्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । गरिएको कडा मिहिनेत र लगनशीलताको भविष्यमा राम्रो परिणाम पाउन सक्नुहुन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनेछन् ।

समग्रतामा भन्नुपर्दा नराम्रो समय छैन, तथापि यस महिनाको ४, ५, १२, १३, १४, २१, २२, २३ र ३१ गतेका दिन राशिस्वामी चन्द्रमाले अशुभ भावको यात्रा गर्ने भएकाले ती दिनमा सतर्क र सावधान रहनु ठीक हुन्छ । कुनै पनि अरिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले अष्टम भावमा बसेको पञ्चमेश र कर्मेश मानिने मङ्गल ग्रहको प्रियताका लागि जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानीमा बगाएमा शुभफल प्राप्त हुन्छ ।

सिंहः सिंह राशिका व्यक्तिहरूका निमित्त व्यक्तित्व, प्रतिष्ठा र शारीरिक रूप संरचनाको स्वामी सूर्यलाई मानिन्छ, त्यसैलेसूर्यको प्रत्येक गोचरको विशेष भूमिका हुने गर्दछ । यस पटक सूर्यले तपाईंको राशिबाट नवम भावमा पर्ने आफ्नो उच्च राशिमा भाग्यस्थानको यात्रा गर्नेछन् । यस भावमा बसेका सूर्यको पराक्रम स्थानमा पूर्ण दृष्टि रहने छ । सामान्यतया नवम भावबाट धार्मिक÷आध्यात्मिक क्षेत्र, विदेश यात्रा र उच्च शिक्षाको आकलन गर्ने प्रचलन छ । सूर्यको यस गोचरले तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । आफ्नो सर्कलमा एउटा राम्रो हैसियतको निर्माण गर्न सकिन्छ । व्यक्तित्व र गरिमामा बृद्धि हुनाले अनुयायी र फलोवरको सङ्ख्यामा बृद्धि हुन्छ । यद्यपि पारिवारिक सम्बन्ध र आपसी तालमेलमा केही कमी भएको आभास हुनेछ ।

खासगरी दाजु वा पिताजीसँग उठबस गर्दा वा व्यवहार गर्दा विनम्रता र आज्ञाकारिताको प्रयोग गर्नु राम्रो हुन्छ । कार्यक्षेत्रमा उन्नति प्रगति नै हुने समय हो । कामविशेषले घरबाहिर निस्कनु पर्ने वा विदेश यात्राको अवसर मिल्नसक्छ । व्यापार÷व्यवसायमा विस्तार हुनेछ । तर बन्दव्यापार र लगानीका दृष्टिले केही निर्णय जोखिममूलक समेत हुन सक्छन् ।

यस्तै विशेष लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने विशेषज्ञको परामर्श लिनु उपयोगी हुनेछ । व्यक्तिगत जीवनको कुरा गर्दा मित्र र सहयोगीको साथ पाइने छ । नेटवर्क विस्तारका लागि अनुकूल समय छ । नयाँ मित्र वा संगतबाट समेत लाभ उठाउन सकिने छ । सामाजिक र सार्वजनिक कार्यक्रममा सहभागिता बढ्नेछ । स्वास्थ्यस्थिति बलियो देखिन्छ, कुनै पुराना रोगव्याधि छन् भने पनि राहत पाउन सकिन्छ । घरका वयोबृद्ध सदस्य वा पिताजीको स्वास्थ्यमा उतारचढाव आउने छ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय हो । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन÷ अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल भइने छ ।
खासगरी यस महिनाको ६, ७, १४, १५, १६, २४, २५ र २६ गतेको चन्द्रमा तपाईंका निमित्त प्रतिकूल रहने हुँदा ती दिनमा दीर्घ प्रयोजनको कुनै पनि काम नगरेको जाती हुन्छ । ग्रहजन्य अशुभताको निवारण गर्न अष्टम भावमा रहेको बृहस्पतिको अनुकूलताका लागि कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नु पर्दछ ।

कन्याः कन्या राशिका जातकका लागि सूर्यले बाह्रौं घरको स्वामित्व गर्दछन् । वैशाख महिनाभरि सूर्यको आठौं भावमा गोचर हुनेछ र धनस्थानमा पूर्ण दृष्टि रहने छ । अष्टम भावबाट आकस्मिक लाभ÷हानि, उत्तराधिकार र सङ्कटको व्याख्या गर्ने चलन छ । त्यसैले यो एक किसिमको सङ्घर्षप्रद समय हो । कार्यक्षेत्रमा सामान्य नै रहनेछ, तर कार्यव्यस्तता वा दौडधूपका कारण आफ्नो काममा पर्याप्त समय दिन सकिंदैन । कामको चाप बढ्नसक्छ, त्यसैले मानसिक बोझ र तनावमा बृद्धि हुनेछ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्ने समय छ, पुनः अनावश्यक र फाल्तुको भ्रमण वा काममा अलमलिने परिस्थितिसमेत बन्नसक्छ । अचानक आर्थिक लाभको सम्भावना पनि देखिन्छ, तर पनि जोखिम र सङ्कटको समय भएकाले खानपान, खर्चबर्च र दुर्घटनाजन्य प्रकृतिबाट टाढा रहेको जाती हुन्छ ।

यस अवधिमा अनैतिक र गैरकानूनी मानिने कामकुराबाट जोगिने प्रयास गर्नुपर्छ । घरपरिवारमा विश्वास र जिम्मेबारीको कमी देखिनेछ, तर कुटुम्बपक्ष, ससुराली मावली आदि पक्षमा सम्बन्ध मजबूत बन्नेछ । स्वास्थ्यगत समस्या पनि देखापर्ने सम्भावना हुन्छ, उच्च ज्वरो, टाउको वा जोर्नीको दुखाइ जस्ता समस्याले दुःख दिनसक्छ । कुनै पनि शुभकर्म र दीर्घ प्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको पूर्ण दृष्टि रहेकाले धनमाल हराउने वा आर्थिक हैसियतमा कमी आउने समयसमेत हो । बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अङ्कुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ ।

यस महिनाको १, ८, ९, १६, १७, १८, २६, २७ र २८ गतेको चन्द्रमा तपाईंका लागि निर्बल रहने हुँदा उक्त दिनमा विशेष सावधानी अपनाउनु ठीक हुन्छ । कुनै पनि अरिष्टफल प्राप्त नहोस् भन्ने उद्देश्यले दैनिक दुर्गा कवच वा नारायण कवचको पाठ गर्ने एवं भगवती दुर्गा वा बालगोपाल भगवान् श्रीकृष्णको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ । प्रत्येक हप्ताको बुधबारका दिन हरियो सागसब्जी वा चारो (घाँस आदि) गाईलाई खान दिनुपर्छ ।

तुलाः तपाईंका लागि सूर्य एघारौं घर अर्थात् राज्य स्थानको मालिक हो र यसले वैशाख महिनाभरि साझेदारी र वैवाहिक जीवनसँग सम्बद्ध सप्तम भावको विचरण गर्नेछ । सप्तम भावमा बसेको सूर्यको तपाईंको राशिमा नीच तर पूर्ण दृष्टि रहने छ । खासगरी यो महिना व्यक्तिगत जीवन होस् कि व्यापारव्यवसाय साझेदार र पार्टनरको भावनालाई ग्रहण गर्ने, उनीहरूलाई महत्त्व दिने एवं आफू अनुकूल बनाउन प्रयास गर्ने समय हो ।  घरपरिवारको हकमा वैवाहिक धर्म र दायित्वको पालना गर्ने समय हो भने व्यापारिक कारोबारका दृष्टिले साझेदार र कामदारको गतिविधि र चरित्रप्रति सशङ्कित भई चनाखो हुनुपर्ने समय हो ।

नोकरी र कार्यक्षेत्रमा शुभफल पाइने छ । जीवनसाथीको कार्यक्षेत्रमा समेत उन्नतिप्रगति भएको समाचार सुन्न पाइने छ । आर्थिक दृष्टिले शुभ समय ठहरिने छ, दीर्घकालिक प्रयोजनको लगानी लाभप्रद बन्नेछ । सामाजिक र राजनैतिक दृष्टिले महत्वपूर्ण समय साबित हुनेछ । जनतामाझ लोकप्रिय छवि बनाउन सफल भइनेछ । स्वास्थ्यगत दृष्टिले लग्नमा सूर्यको दृष्टि रहेकाले मानसिक बोझ, चिडचिडेपन र शारीरिक थकान बढ्नसक्ने समय छ, त्यसैले खानपान र व्यायामको अनुशासन पालना गरेको जाती हुन्छ । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ, तर पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भएपछि मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । सूर्यका साथमा राहुको युतिसम्बन्ध बनेकाले सहयोगीको साथ पाइँदैन, कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने हुन्छ । बडो संवेदनशील भएर मनन गर्नुपर्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन्, कुनै विशेष योजना छ भने होसियारीका साथमा अघि बढ्नु जायज हुन्छ ।

चान्द्रयात्राका आधारमा यस महिनाको १, २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० को चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने छन् । लक्ष्य प्राप्ति होस्, अशुभताको निवारण होस् र जीवनका यावत् अवरोधको अन्त्य होस् भन्ने उद्देश्यले शिरमा बसेको केतुको तथा महिनाको अन्त्यमा षष्ठ भावमा पुग्ने राशिस्वामी शुक्रको उपासनामा जोड दिनु बुद्धिमानी हुनेछ । त्यसका निमित्त दैनिक रूपमा हनुमान् चालिसा र दुर्गाकवचको पाठ गर्नुका साथै यस महिनाको कुनै शुक्रवारका दिन कम्तीमा आफ्नो तौलको दशांश (८० किलो वजन भए ८ किलो) गाईको काँचो दूध जम्मा पारी नजिकैको तीर्थस्थल वा शिवालयमा गई भगवान् शङ्करको अभिषेक गरी रुद्री पूजा लगाउनु पर्दछ ।

वृश्चिकः वृश्चिक राशिको कुण्डलीमा दशम भाव अर्थात् कर्मक्षेत्रको मालिक सूर्य ग्रहलाई मान्ने गरिन्छ । वैशाख महिनाभरि सूर्यले छैटौं भाव अर्थात् शत्रु र रोग स्थानको भ्रमण गर्नेछन् र द्वादश भावमा सूर्यको पूर्ण दृष्टि रहने छ । सामान्यतया षष्ठ भावमा बसेको सूर्यको प्रभाव उत्कृष्ट रहने गर्दछ । यो शत्रु र प्रतिद्वन्द्वीमाथि विजय प्राप्त गर्ने समय हो । कार्यक्षेत्रमा उन्नति हुनेछ, बढुवा वा प्रशंसाको योग बनेको छ । सरकारी निकायका कर्मचारीले थप जिम्मेवारी र पुरस्कार प्राप्त गर्नेछन् । वरिष्ठ कर्मचारी र हाकिमको कृपापात्र बन्न पाइने छ । पेसा वा व्यवसायमा परिवर्तनको चाहनालाई पूरा गर्न सकिने छ । त्यस्तै कुनै परीक्षा वा प्रतियोगितमा समावेश हुने विद्यार्थीले उच्च अङ्कका साथमा सफलता हासिल गर्नेछन् । 

यस्तै जागिरको खोजीमा रहेका व्यक्तिको मनोकांक्षा पूरा हुनेछ । व्यस्त जीवन रहने भएकाले घरपरिवार, जीवनसाथी वा प्रेमीलाई समय दिन सकिंदैन । छैटौं घर रोग र चोरसँग सम्बद्ध घर भएकाले स्वास्थ्यस्थितिमा अप्रत्यासित ढंगले उतारचढाव आउनसक्ने र सानातिना धनमाल हराउने वा चोरी हुने खतरा समेत रहेकाले त्यसप्रति चनाखो हुनुपर्छ । गैरकानूनी वा अनैतिक कामका कारण दण्ड जरिवाना तिर्नुपर्ने वा सजाय भोग्नुपर्ने परिस्थितिसमेत सिर्जना हुनसक्छ । समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्ण दृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो ।

चान्द्रयात्राका आधारमा यस महिनाको ४, ५, १२, १३, १४, २१, २२, २३ र ३१ गते कमजोर समय देखिंदैछ । कुनै पनि अशुभता नहोस् र शुभ फलमा बृद्धि होस् भन्ने उद्देश्यले राशिस्वामी मङ्गलको प्रियताका निमित्त कुनै उपाय अवलम्बन गर्नु राम्रो हुन्छ । यसका लागि हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ अथवा प्रत्येक मङ्गलबारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गरी देवालयमा आफैंले वा घरका कुनै सदस्यले चोखोनीतो गरी निर्माण गरेको २१ वटा लड्डु चढाउँदा लाभ हुन्छ ।

धनुः तपाईंको राशि कुण्डलीमा सूर्यलाई भाग्य भाव अर्थात् नवम भावको मालिक मान्ने चलन छ । वैशाख महिनाभरि सूर्यले पञ्चम भावमा उपस्थिति जनाउँदै राज्य स्थानमा पूर्ण दृष्टिले देख्नेछ । यो महिना व्यक्तित्व विकास, प्रतिष्ठा प्राप्त् िर उन्नतिप्रगतिको समय हो । प्रेम, आनन्द, खुसी र रोमान्सका लागि यो समय राम्रो रहने छ । सम्मान, नाम र लोकप्रियता कमाउन मद्दत पुग्नेछ । स्तर र आयवृद्धिको सङ्केत छ । आर्थिक पक्ष बलियो देखिन्छ । आन्तरिक सम्बन्ध र प्रेमभावका दृष्टिले कमजोर समय रहने छ । पार्टनरमा अहङ्कार बढ्नेछ र स्वभावमा नकारात्मकता देखिने छ । जीवनसाथी र लवमेटको भावनाको कदर गरी अघि बढेमा मात्र पारिवारिक जीवनमा केही सहजता देखिनेछ । यो समय स्वस्थ र बलियो महसुस गर्ने समय हो । कार्यक्षेत्र र बन्दव्यापारको समुन्नतिका लागि समय अनुकूल नै देखिन्छ । 

यस्तै आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । नयाँ व्यवसाय सुरू गर्न अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले पदप्रतिष्ठा र धनार्जनको राम्रो अवसर पाउनेछन् । कार्यक्षेत्रमा जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । शिक्षार्थीहरूले व्यवहारिक अवरोधको सामना गर्नुपर्ने हुन्छ, लागी परेमा पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ ।
समग्रतामा उतारचढावले युक्त समय भए पनि यस महिनाको ६, ७, १४, १५, १६, २४, २५ र २६ गतेका दिन सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ । ग्रहजन्य कुनै किसिमको अशुभ प्रभाव नपरोस् भन्ने उद्देश्यले शनिश्चर ग्रहको उपासना गर्नु राम्रो हुन्छ । यसका लागि हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।

मकरः मकर राशिका व्यक्तिको कुण्डलीमा अष्टम भावको स्वामित्व सूर्यदेवले गर्दछन् । हरेक वर्षको वैशाख महिनाभरि सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा रहने गर्दछ । सामान्यतया चौथो भावबाट आमा, घर, वाहन र वैदेशिक स्थलको अध्ययन गरिन्छ । यस भावमा बसेको सूर्यले दशम भाव अर्थात् कर्मक्षेत्रमा पूर्ण दृष्टि राख्ने गर्दछ । यस परिस्थितिले तपाईंको व्यक्तिगत जीवनमा मिश्रित प्रभाव पर्नेछ । व्यवसायिक जीवन र कार्यक्षेत्रका आधारमा यो समय उत्कृष्ट रहने देखिन्छ, तर पारिवारिक जीवनमा तनावको सामना गर्नुपर्ने हुन्छ । अष्टमेशले चतुर्थ भावको यात्रा गर्दा सामान्यतया आमाको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ ।

ऋणभारमा बृद्धि हुनेछ । कुनै बाध्यात्मक वा पारम्परिक कामका कारण घरमा ठूलो धनरकमको आवश्यकता पर्नसक्छ । व्यक्तिगत प्रतिष्ठा बढ्नेछ । कुनै प्रतियोगिता वा प्रतिस्पर्द्धामा चुनौती र सङ्घर्षका बाबजुद विजय प्राप्त हुनेछ । सरकारी कामका माध्यमबाट मनग्ये धनलाभ हुनेछ । आम्दानीका दृष्टिकोणले यो कमजोर समय त मानिंदैन, तर धनसम्बन्धी जोखिम पनि सँगै रहेको परिस्थिति हो । कमाएको धन सञ्चित हुनसक्दैन, बरु उल्टै ऋण काढ्ने परिस्थिति सिर्जना हुनेछ । यस अवधिमा स्थिरसम्पत्तिबाहेक अन्य क्षेत्रमा थप धनलगानी नगरेको जाती हुन्छ । पारिवारिक जीवन खुसियालीले भरिपूर्ण नै रहने छ, तर घरपरिवारमा देखापर्ने स्वास्थ्यसमस्याले पिरोल्न सक्छ । 

यसैगरी सवारी साधन मरम्मत वा कुनै दुर्घटनाजन्य जोखिमले पनि थप धन खर्च गराउन सक्छ । व्यक्तिगत स्वास्थ्यस्थितिमा सामान्य नै देखिन्छ । चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुनेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुनेछ । खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । यो हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ ।

समग्रतामा सङ्घर्ष र उतारचढावले प्रभावित समय भए पनि यस महिनाको ८, ९, १६, १७, १८, २६, २७ र २८ गते अलि बढी सतर्कता अपनाउने समय हो । ग्रहजन्य कुनै पनि अरिष्टता नहोस् भन्ने उद्देश्यले यतिवेला राशिस्वामी शनिश्चर र चतुर्थ भावमा बसेको सूर्यको उपासनामा जोड दिनु राम्रो हुन्छ । यसका लागि दिनहुँ सूर्यलाई जलार्पण गर्नुका साथै शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।

कुम्भः कुम्भ राशिका व्यक्तिहरूको कुण्डलीमा दाम्पत्य जीवन र साझेदारीको कारक ग्रहका रूपमा सूर्यको गणना गरिन्छ । यस पटक सूर्यले तपाईंको राशिबाट तृतीय भावमा उपस्थिति जनाएर भाग्य भावमा पूर्ण दृष्टिले देखेको अवस्था छ । तृतीय भाव सामाजिक सम्बन्ध, नेटवर्किङ र मित्र शक्तिको घर हो । यस भावमा बसेको सूर्यले सदैव शुभ फल प्रदान गर्दछन् । यसबाट व्यक्तिको जीवनमा उत्साह र दृढ इच्छाशक्तिको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिने छ । 

यसैगरी व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । ससाना यात्रा लाभदायी ठहरिनेछन् । आफ्नो योजना र लक्ष्यप्रति लगाव बढ्नेछ । व्यावसायिक जीवनमा राम्रो गर्न सकिन्छ । चुनौती र सङ्घर्ष नै झेल्नुपरे पनि कामबाट पछि हट्नुपर्दैन ।

हाँकेताकेका हरेक काममा मित्र र सहयोगीहरूको सहायता प्राप्त हुनेछ । आर्थिक दृष्टिले पनि यो समय अनुकूल रहने छ । पुराना र बाँकी बक्यौतामा रहेको रकमको पुनरागमन हुनेछ । खाँचो परेको वेलामा साझेदार र मित्रहरूले पनि आर्थिक सहायता प्रदान गर्नेछन् । कुनै पर्यटकीय स्थल वा तीर्थको भ्रमण हुनसक्छ, कामका सिलसिलामा वा व्यवसायिक उद्देश्यले पनि सकारात्मक यात्रा सम्पन्न हुनेछ । पारिवारिक जीवनको कुरा गर्दा सबै उमेर समूहका व्यक्तिसँग सम्बन्ध सुमधुर रहने समय हो । तृतीय भावलाई मारक स्थान पनि भन्ने गरिन्छ, त्यसैले स्वास्थ्यसम्बन्धी ठूलो समस्या त आउँदैन, तथापि हेलचक्र्याइँ भने पटक्कै गर्नु हुँदैन ।

चान्द्रयात्राका दृष्टिले यस महिनाको १, २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० अलि कमजोर समय रहने छन् । कुनै पनि अनिष्ट फल नपाइयोस् भन्ने उद्देश्यले राशिस्वामी शनिदेवको उपासनामा जोड दिनुपर्दछ । यसका लागि दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु वा शिव स्तोत्र अथवा शनि स्तोत्रको पाठ गर्नु उचित हुन्छ ।

मीनः वैशाख महिनाभरि सूर्यले दोस्रो भावको गोचर गर्नेछ । कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्नेछ । यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक हुन्छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूका लागि राम्रो नतिजा प्रदान गर्नेछ । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । 

यता बन्द व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ । अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाती हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहङ्कार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखा पर्नसक्छ ।

चान्द्रयात्राका आधारमा यस महिनाको ४, ५, १२, १३, १४, २१, २२, २३ र ३१ गते कमजोर समय रहनेछन् । कुनै पनि अशुभता नहोस् तथा शुभ फलमा निरन्तर बृद्धि भइरहोस् भन्ने उद्देश्यले अष्टम भावमा बसेको केतु तथा बाह्रौं भावमा रहेको मङ्गलको प्रियताका लागि केही दानधर्मादि गरिदिनु उचित हुन्छ । यसका लागि देवीदेउराली वा कुनै शक्तिपीठमा गई वर्षको एकपल्ट नौ जना नौ वर्षमुनिका बालिका लाई कालो रङको तैयारी लुगा दान गर्नुपर्दछ, अथवा प्रत्येक मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ