भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान, संयमता अपनाउन राष्ट्र संघको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
1.8k
Shares
नयाँदिल्ली । भारत र पाकिस्तानका सैनिकबीच बिहीबार राति विवादित कश्मीरको सीमारेखा लाइन अफ कन्ट्रोल (एलओसी) मा गोली हानाहान भएको छ । पछिल्लो घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकलाई संयम अपनाउन आग्रह गरेको छ ।
भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी हालैको पहलगाम घटनापछि जसमा एक नेपालीसहित २७ जना निर्दोष नागरिकको ज्यान गएको थियो । उक्त घटना पछिल्लो २५ वर्षको सबैभन्दा दुःखद नागरिक क्षतिभित्र पर्छ ।
पाकिस्तान–प्रशासित कश्मीरका सरकारी अधिकारी सय्यद अश्फाक गिलानीका अनुसार, “सीमामा दुवै पक्षबीच गोली चलिएको हो, तर यसले कुनै पनि नागरिक क्षेत्रमा असर नपरेको छ ।”
भारतको सेनाले पनि सानो हतियार प्रयोग गरिएको सीमित गोलीबारी भएको पुष्टि गर्दै यो कारबाही पाकिस्तानबाट सुरु गरिएको दाबी गरेको छ । सेनाका अनुसार, यसप्रति भारतले आवश्यक जवाफ दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले न्यूयोर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै भने,“भारत र पाकिस्तानबीच रहेका मुद्दाहरू आपसी संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान हुनसक्छन् र हुनुपर्छ ।” उनले थपे, “हामी दुवै सरकारलाई अधिकतम संयमता अपनाउन र अवस्था अझ जटिल नबनोस् भन्न अनुरोध गर्दछौं ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै भने, “भारत आतङ्कवाद र यसको समर्थन गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन्ने छैन ।”
यस घटनामा संलग्न रहेको आरोप अस्वीकार गर्दै पाकिस्तानले भारतको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । साथै, कुनै पनि प्रकारको धम्की वा कारबाही भएमा पाकिस्तानले त्यसको उपयुक्त जवाफ दिने जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शीर्ष सुरक्षा निकायको आपतकालीन बैठक आयोजना गरेपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता तथा जनताको सुरक्षामा कुनै खलल पुग्ने खण्डमा आवश्यक सबै उपाय अवलम्बन गरिनेछ ।”