संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सभाका कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
2.6k
Shares
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका रहेको छ।
प्रतिनिधि सभाको बैठकमा आज अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन्। त्यसैगरी, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ प्रस्तुत गर्नेछिन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नेछन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यता राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यक्रम छ। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१” सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
आज दुवै सदनमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुने र प्रतिवेदनहरू पेश हुने कार्यक्रम रहेको छ।