देशभर बदली, काठमाडौँमा बिहानैदेखि मेघगर्जनसहित वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
851
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित फाटफुट वर्षा भइरहेको छ । ठूलो वर्षा भने हुन सकेको छैन । यसअघिका दिनमा पनि काठमाडौँमा ठूलो वर्षा हुन सकेको छैन ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागका एक-दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना छ। देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।