arrow

पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
un-fao.jpg

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार पाकिस्तानमा नोभेम्बर २०२४ देखि मार्च २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार यस अवधिमा एक करोड १० लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको जोखिममा रहेका छन्।

सन् २०२५ को वैश्विक खाद्य सङ्कटसम्बन्धी उक्त प्रतिवेदनमा बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा करिब २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्ने अनुमान गरिएको छ। यसमध्ये १७ लाख मानिसको अवस्था आपतकालीन तहमा रहेको प्रतिवेदनमा जनाइएको छ।

सन् २०२३ को तुलनामा यस वर्षको विश्लेषणमा समावेश गरिएको जनसङ्ख्या ३८ प्रतिशतले वृद्धि भई तीन करोड ६७ लाखबाट पाँच करोड आठ लाख पुगेको छ। प्रतिवेदनमा थप २५ जिल्ला समावेश गरिएकाले अघिल्लो तथ्याङ्कसँग सिधा तुलना गर्न नसकिने उल्लेख छ।

प्रतिवेदनले चरम मौसमको असरले जनताको जीविकोपार्जनमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको औंल्याएको छ। सन् २०२२ को मङ्सिरदेखि माघसम्म पनि पाकिस्तानमा करिब एक करोड १८ लाख मानिस तीव्र खाद्य असुरक्षामा परेका थिए।

बलुचिस्तान र सिन्धका विश्लेषण गरिएका क्षेत्रहरूमा सन् २०१८ देखि २०२३ सम्म निरन्तर अत्यधिक कुपोषण देखिएको प्रतिवेदनमा उल्लेख छ। कतिपय जिल्लामा ३५ प्रतिशतसम्मको वैश्विक कुपोषण दर देखिएको छ। सन् २०२५ मा जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।

यसैगरी, छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ। कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ। गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमा पनि कुपोषणको दर अत्यधिक रहेको छ भने धेरै बच्चा जन्मिँदा कम तौलका हुने समस्या पनि देखिएको छ।

स्वास्थ्य सेवा, पिउनयोग्य पानी तथा सरसफाइको पर्याप्त पहुँच नभएको र सडकहरू अवरुद्ध हुँदा स्वास्थ्य केन्द्रसम्म पुग्न सकिने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले सन् २०२२ मा आएको भीषण वर्षा र बाढीपछिका असरहरू अझै कायम रहेको र यसले २०२५ मा स्थिति अझै खराब हुन सक्ने सङ्केत दिएको चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ