arrow

सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
birjung-custom-office.jpg

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ। संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय एकीकरण हुन लागेका हुन्।

हाल वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत एकीकृत जाँचचौकी सञ्चालनमा छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा थियो।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि दुवै कार्यालय गाभिने जानकारी दिए। "चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै बजेट रहेकाले असार मसान्तपछि मात्रै गाभिनेछ," उनले भने, "सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पद दर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौं।"

सिर्सियास्थित सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ। यो बन्दरगाह विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर निर्माण गरिएको हो। भारतले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ, जहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ।

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिस्टिन भ्याली ड्राइपोर्ट बीच पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको थियो। यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। यो जाँचचौकी ११५ बिघामा फैलिएको छ। टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको रु एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ