काठमाडौँ । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि नेपालकी सन्तोषी श्रेष्ठ र केन्याका जुलियस म्युरुकीले जितेका छन् ।
२५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए । उनले १ घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समयमा सुशील केसी तेस्रो भए ।
महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषी सफल रहिन् । शुरूआतदेखि अग्रता बनाएकी उनले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको टाइमिङमा पहिलो स्थान प्राप्त गरिन् । आर्मीकी नीशा सार्की दोस्रो भइन् । उनले १ घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले १ घण्टा ३८ मिनेट ०९ सेकेन्डमा दूरी तय गरिन् ।
महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे ।
५ किलोमिटर अन्तर्गत यु–१८ पुरूषमा अजय पाण्डे क्षेत्री पहिलो भए । उनले १७ मिनेट १२ सेकेन्डमा दौड सकाए । १७ मिनेट ४४ सेकेन्डमा दूरी तय गरेका सन्दीप सेन्चुरी दोस्रो हुँदा अमृत विश्वकर्मा तेस्रो भए । उनले १८ मिनेट १३ सेकेन्डको टाइमिङ निकाले ।
यु–१८ महिलामा २१ मिनेट ४७. ६६ सेकेन्डको टाइमिङमा अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए । भगवतीले २२ मिनेट २७ दशमलव ८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०. ७८ सेकेन्डको टाइमिङमा रेस सकाएका थिए ।
५ किलोमिटर भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए । उनले १८ मिनेट ३१ मिनेट ३१. १५ सेकेन्डको टाइमिङमा उपाधि जित्न सफल भए । लेप्सङ तामाङ दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो भए ।
५ किलोमिटर भेट्रान महिलामा २६ मिनेट १९. ७९ सेकेन्डमा शर्मिला बस्नेतले पहिलो स्थान प्राप्त गरिन् ।
कल्पना महर्जन दोस्रो र केशरी थापा मगर गुरुङ तेस्रो भए । कल्पनाले २२ मिनेट २७.८७ सेकेन्डमा र केशरीले २३ मिनेट ३०.७९ सेकेन्डमा दौड पूरा गरिन् ।
५ किलोमिटर यु–१८ र भेट्रान दुवैतर्फको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे ।
२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट शुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हाक्तीसार, लैनचौेर, स्वयम्भु ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा टुंगिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङ, एम्सका अध्यक्ष पाको बोराओलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।