arrow

अर्थमन्त्री र गभर्नरबीच 'दरार खोज्नेहरू निराश हुनेछन्'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
bishnu-pudels.jpg

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा 'दरारको खोजी गर्नेहरू' आगामी दिनमा निराश हुने बताएका छन्। उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका बीच, तथा अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमति वा असमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको प्रस्ट पारे।

मंगलबार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको 'प्रि मनिटरी पोलिसी डिस्कसन' र विशेष प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले मौद्रिक नीति र वित्त नीतिको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्ध, तथा अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धका विषयमा भइरहेका चर्चा र टिप्पणीले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले यी दुई संस्था र पदाधिकारीहरूका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताए। उनले उचित संयोजन र सन्तुलन कायम हुन सके, पारस्परिक सम्बन्ध जीवन्त र हार्दिक हुन सके, तथा एकले अर्काका विषयहरू सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अगाडि बढ्न सके समग्र अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यदि यी दुई संस्था र निकायका बीचमा मौद्रिक नीति र वित्त नीतिमा सही सन्तुलन हुन सकेन भने त्यसले अर्थतन्त्रको गतिमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

"मौद्रिक नीति र वित्त नीति यी दुईमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने होइन," उनले भने, "हामी यी दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्छौँ। आज अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा, वित्त नीति र मौद्रिक नीतिका बीचमा त्यस प्रकारको दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्।" उनले आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए।

उपप्रधानमन्त्री पौडेलले मौद्रिक सुशासनका बारेमा केही प्रश्नहरू उठ्ने गरेको स्वीकार गर्दै सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको बताए। उनले सुशासनलाई प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि स्पष्ट पारे।

उनले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै कार्यकारी जिम्मेवारीमा रहेकाहरूको काम समस्या छ भनेर त्यसको वर्णन गर्नमा सीमित नभई समस्याको समाधानमा केन्द्रित हुनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ