कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन, देशभर गर्मी बढ्दै
नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु, बङ्गालको खाडीमा अर्को न्यून चापीय प्रणाली बनेको र भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएकाले नेपालमा आइपुग्ने र वर्षा गराउने अपेक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
1k
Shares
काठमाडौँ। नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात् यही जेठ १५ गते कोशी प्रदेशमा मनसुन भित्रिएको थियो। तर, अप्रत्याशित रूपमा मनसुन कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्किएको छ। मौसमविद्हरूका अनुसार पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेका कारण मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, "मनसुन पूर्वी एसिया क्षेत्र, मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन।"
मनसुनको अनिश्चितता र प्रारम्भिक प्रभाव
मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आएको थियो। यस क्रममा धरान-धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको थियो भने झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका थिए। त्यसयता भने उल्लेख्य वर्षा भएको छैन।
पश्चिम तथा मध्यक्षेत्रमा हाल स्थानीय र पश्चिमी वायु सक्रिय छ। मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन पूर्ण रूपमा नेपाल प्रवेश गर्न नसकेको बताउँछन्। नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ, तर त्यो हाल कमजोर भएको उनले उल्लेख गरे। जसका कारण देशभर तापक्रम वृद्धि भइरहेको छ। मौसमविद्का अनुसार यसरी मनसुनमा 'ब्रेक' आउनु राम्रो सङ्केत होइन, यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने जोखिम हुन सक्छ।
भोलिदेखि बदली र विपद् प्रतिकार्यको तयारी
मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताएका छन्। उनका अनुसार अहिले बङ्गालको खाडीमा अर्को न्यून चापीय प्रणाली बनेको छ र भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको छ, जसको असर नेपालमा आइपुग्ने र वर्षा गराउने अपेक्षा गरिएको छ।
यस वर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आकलन सार्वजनिक गरिसकेको छ। जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए।