arrow

प्रचण्डप्रति रेशम चौधरीको कटाक्ष- मान्छे मार्नेलाई केही नगरिने, नमार्नेलाई हत्यारा बनाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
resham-chaudary-28.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति लक्षित गर्दै ‘मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको’ टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

रेशम चौधरीले आफूलाई अझै पनि टीकापुर हत्याकाण्ड गरेको भनेर गाली गरिने गरेको गुनासो गरे। उनले आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भए पनि ‘सबैभन्दा ठूलो हत्याको बिल्ला’ भिराइएको दाबी गरे।

चौधरीले आक्रोशित हुँदै भने, "म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु। मार गाली गर्छन् मलाई। टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ। मेरो परिवारको बच्चा मर्यो, मलाई भन्छन् बच्चाको हत्यारा, हत्यारा, हत्यारा हँ। हामी मान्छे नमार्ने थारुहरु हत्यारा भयौँ। मान्छे मार्नेहरु उनैसँग छन् फेरि। सँगसँगै छन्। उनले मार्यौँ पनि भन्छन्। बडा पीडा छ दाई। न्याय मरेको देश। अब विद्रोह गरौँ, केका लागि विद्रोह गर्ने? कसलाई मार्नलाई विद्रोह गर्ने?"

उनले ‘मान्छे नमार्ने थारुहरू’ लाई हत्यारा बनाइएको तर ‘मान्छे मार्नेहरू’ सरकारमा सँगै रहेर पनि आफूहरूले मान्छे मारेको स्वीकार गर्दा पनि उनीहरूलाई यत्तिकै छोडिएको टिप्पणी गरे। चौधरीले नेपाल ‘न्याय मरेको देश’ भएको आरोप लगाए।

संस्थापक चौधरीले नेपालीहरू अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरूसँग आगामी चुनावमा हारिएला भनेर ‘विदेशीहरूको भोट चलाउने प्रपञ्च’ भइरहेको समेत आशंका व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ