काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार (आज) पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिनमा शिवजीको पूजा आराधना र दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
शास्त्रीय मान्यताअनुसार साउनको सोमबार भगवान् शिवलाई शुद्ध जल चढाएर खुसी पार्न सकिन्छ। बिहानैदेखि पशुपति दर्शनका लागि भक्तजनको आगमन सुरु भएको थियो। साउनको सोमबार व्रत बस्नाले मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्।
साउनदेखि नै सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजैदेखि दक्षिणायनको सुरुवात हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने परम्परा रहेको छ।