पशुपति क्षेत्रमा विश्वभरका पशु कल्याणको कामना गर्दै राम कथा महायज्ञ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
519
Shares
काठमाडौँ। विश्वभरका सबै पशुहरूको कल्याण होस् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ। भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपतिनाथबाट विश्वभरका पशुहरूको उन्नति हुने विश्वासका साथ यो महायज्ञको आयोजना गरेको हो। गत आइतबारदेखि सुरु भएको यो महायज्ञ आगामी शनिबारसम्म चल्नेछ।
पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहेका छन्। महायज्ञमा भारतका विभिन्न स्थानबाट करिब दुई सय भक्तजन सहभागी भएका छन्, जसले धार्मिक पर्यटनलाई पनि प्रवर्द्धन गरेको कथास्थलमा भेटिएकी मनिषा निरौलाले बताइन्।
दैनिक करिब पाँच सय जना भक्तजनको सहभागिता रहने यो महायज्ञ दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुन्छ। विश्व सनातन ट्रष्टले सनातन धर्म र संस्कृतिको संरक्षणका लागि नेपालसहित भारत, अमेरिका, क्यानडा, बेलायत लगायतका देशहरूमा यस्ता यज्ञहरूको आयोजना गर्दै आएको ट्रष्टका अध्यक्षसमेत रहेका पण्डित मिश्रले जानकारी दिए।