काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशको महोत्तरी र बारा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन जाँदैछन्।
उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार, प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नेछन्। सोही नगरपालिकाको वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
यसैगरी, महोत्तरीमै प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बारा जिल्लामा भने उनी परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनेछन्।